राष्ट्रपतिद्वारा पशुपतिनाथमा एक महिनाको तबल अर्पण

0

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्र कल्याण र विश्व कल्याणको कामना गर्दै आज पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्नुभएको छ । मुलुकमा भइरहेको सङ्कटबाट मुक्ति मिलोस् भन्ने कामना गर्दै राष्ट्रपति भण्डारीले राष्ट्र कल्याणको सङ्कल्पसहित विशेष पूजा गर्नुभएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा गोविन्द टन्डनले जानकारी दिनुभयो ।
“राष्ट्रपति भण्डारीले पञ्चामृत र अभिषेकसहित राष्ट्र कल्याण र विश्व कल्याणको कामनाका लागि सङ्कल्प गरी विशेष पूजा गर्नुभएको छ, बिहान १०ः२० बजे पशुपतिनाथ मन्दिर प्राङ्गणमा आइपुग्नुभएका राष्ट्रपतिले मन्दिर परिक्रमा विधिअनुसार प्रवेश गरी वासुकीनाथ र मूल मन्दिरमा पनि विशेष पूजा भक्ति निष्ठापूर्वक गर्नु भएको छ” – सदस्यसचिव डा टन्डनले भन्नुभयो ।
राष्ट्रपति भण्डारीले शेषनारायण, लालगणेश, सूर्यनारायण, गङ्गामाई, सन्तापहरेश्वर, कीर्तिमुख भैरव, सितलामाई, चतुःषष्टि महादेव, उन्मुक्त भैरव र नवग्रहको दर्शन गरेर मूल भट्ट र अन्य भट्टद्वारा विशेष पूजा अर्चना गर्नुभएको कोषका निर्देशक भरत मरासिनीले जानकारी दिनुभयो ।
उहाँले पशुपतिनाथको मूल मन्दिरको दर्शन गरी नन्दी, हनुमान, सत्यनारायणको पनि दर्शन गर्नुभएको थियो ।
राष्ट्रपति पशुपतिनाथ मन्दिर परिसरमा आइपुग्दा पशुपति क्षेत्रका स्थानीयवासीले धिमे बाजाले स्वागत गरेका थिए । पश्चिमढोकाबाट मूल मन्दिरमा प्रवेश गर्ने बित्तिकै नेपाल वेद विद्याश्रमका वटुकले स्वस्तिवाचनबाट उहाँको स्वागत गरेका थिए । पशुपति परिक्रमा र विशेष पूजा गरी राष्ट्रपति भण्डारीले करिब एक घण्टा पशुपति मन्दिर परिसरमा बिताउनुभएको थियो ।
पहिलो महिनाको तलब अर्पण
राष्ट्रपति निर्वाचित भएपछि भण्डारीको यो पहिलो पशुपतिनाथमा पूजा एवम् दर्शन हो । यसक्रममा उहाँले राष्ट्रपति भएपछि पहिलो महिनाको तलब रु एक लाख २१ हजार ३६० पशुपतिनाथमा अर्पण गर्नुभएको कोषका प्रमुख लेखा अधिकृत प्रेमहरि ढुङ्गानाले जानकारी दिनुभयो ।
राजतन्त्र कालमा राजाले पनि पर्व पर्वमा पशुपतिनाथमा दर्शन एवम् पूजा गर्ने परम्परा थियो । अन्तरिम कालका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र दोस्रो संविधानसभाको निर्वाचन गराउने मन्त्रिपरिषद् अध्यक्ष बन्नुभएका खिलराज रेग्मी पनि विशेष पूजाका लागि पशुपतिनाथ मन्दिरमा जानुभएको थियो ।
राष्ट्रपति भण्डारीले यसअघि कोषको सञ्चालक सदस्य भएरसमेत काम गरिसक्नुभएको छ । विसं २०५१ को उपनिर्वाचनमा काठमाडौँ क्षेत्र नं २ बाट निर्वाचित भई उहाँले पदेन पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को सदस्य भई काम गर्नुभएको थियो । पशुपति रहेको निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद कोषको पदेन सञ्चालक परिषद् सदस्य हुने व्यवस्था कोषको ऐनमा गरिएको छ ।

Leave A Reply

Your email address will not be published.