मधेसको समस्या चाँडो समाधान हुन्छ : सभापति कोइराला

0

काठमाडौं । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले मधेसको समस्या चाँडो समाधान हुने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले कोइराला निवास महाराजगन्जमा गरेको विशेष साक्षात्कारमा सभापति कोइरालाले संविधान संशोधन गरी आन्दोलनरत मधेसी मोर्चाका जायज माग सम्बोधन गर्नुपर्ने बताउनुभएको हो । पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका कोइरालाले वर्तमान अवस्थामा देखिएको समस्या समाधान गरी आम नागरिकलाई सङ्कटबाट मुक्त गराउनुपर्ने बताउनुभयो । उहाँले अहिलेको संविधानले सबै जाति, धर्म, भाषा, वेशभूषालाई प्रतिनिधित्व गरेको भन्दै केही छुटेका विषय संशोधनमार्फत टुङ्ग्याउनुपर्नेमा जोड दिनुभयो ।
सभापति कोइरालाले नेपाली काँग्रेसको आधारभूमि मधेस भएको तथा मधेसी जनता र काँग्रेसबीच विश्वासको सङ्कट देखिएको भन्दै यसलाई सहज बनाउन सहमति सहकार्य र एकताको खाँचो रहेको औँल्याउनुभयो । उहाँले भन्नुभयो–“संविधान सम्झौताको दस्तावेज हो यसलाई फेरबदल गर्न सकिन्छ, अब मुलुकलाई विकासको बाटोमा लैजानु आवश्यक छ ।”
पूर्व प्रधानमन्त्री कोइरालाले १० वर्षे माओवादी युद्ध र सेना समायोजन वार्ताबाटै सफल भएको उल्लेख गर्दै मधेसका माग पनि वार्ताबाटै समाधान गर्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो– “दोस्रो संविधानसभाको निर्वाचन हुन्छ हुँदैन भन्ने आशङ्कामा निर्वाचन भयो, संविधान आउँछ आउँदैन भन्ने आशङ्कामा संविधान आयो अब मधेस समस्या पनि चाँडो समाधान हुन्छ ।”
सभापति कोइरालाले नेपाली राजनीति दलकै झगडाका कारण लामो समयदेखिको छिमेकी मुलुकसँग सम्बन्ध बिग्रेको भन्दै सम्बन्ध सुधार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालको संविधानले सबैको अधिकारलाई समेटेको भन्दै यो संविधान दक्षिण एसियाकै उत्कृष्ट भएको दाबीसमेत गर्नुभयो ।
उहाँले भूकम्प र नाकाबन्दीको सङ्कटमा पनि नेपालीहरुसँग धैर्य गर्न सक्ने क्षमताको प्रशंसा गर्नुभयो । सभापति कोइरालाले अबको महाधिवेशनमा नेपाली काँग्रेसको सभापति पदमा उम्मेदवार दिनुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले पार्टीभित्र छलफल गरेर निर्णय लिने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो– “मलाई पार्टीभन्दा देशको माया छ त्यसैले अहिले महाधिवेशनको बारेमा सोच्नसमेत पाएको छैन ।” उहाँले सङ्घीयताका बारेमा सबै दलसँग व्यापक छलफल गरेर अगाडि बढ्ने उल्लेख गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.