आन्दोलनकारी र भारतीयबीच मितेरी पुलमा भिडन्त

0

पर्सा, १७ मङ्सिर । वीरगन्जको मितेरी पुलमा आज बिहान आन्दोलनकारी र भारतीय नागरिकबीच झडप भएको छ । गएराति रक्सौलनिवासी केही युवाले धर्ना बसेका आन्दोलनकारीमाथि आक्रमण गरी एउटा भारतीय नम्बरको ट्रक नेपालबाट भारततर्फ भित्रयाएको विषयमा आन्दोलनकारी र भारतीय नागरिकबीच विवाद बढेपछि बिहानदेखि दुबै पक्षबीच झडप भएको हो ।
झडपमा परी मोर्चाका छजना भन्दा बढी नेता तथा कार्यकर्ता घाइते भएका छन् । बिहान भएको झडपमा परी मदन यादव, शत्रुधन यादव, रेखा देवी लगायतका घाइते भएका छन् भने राति भारतीय नागरिकले गरेको कुटपिटबाट मोर्चाका कार्यकर्ता सुरेश साह कानु, रञ्जित साह, रामदहिन यादव, नन्दु यादव, फिरोजबाबु खान घाइते भएका थिए । घाइते सबैको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये सुरेश साहको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।
आन्दोलनकारी र रक्सौलवासीबीच विवाद बढेपछि उत्पन्न विवादलाई साम्य पार्न दुबै तर्फका अगुवाले पहल गरिरहेका छन् । सीमाक्षेत्रमा नेपाल भारतका नागरीक एकआपसमा भिडेपछि तनाव उत्पन्न भएको छ । सीमाक्षेत्रमा तनाव बढेपछि सम्पूर्ण सवारीका साधन आवतजावतमा रोक लगाइएको छ ।

Leave A Reply

Your email address will not be published.