भू–संरक्षण कार्यालयमा आगजनी

0

सप्तरी, ७ मङ्सिर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्याकर्ताले राजविराजमा रहेको भू–संरक्षण कार्यालयमा आज आगजनी गरिदिएका छन् । दस-बीस जनाको समूहमा गएका मोर्चाका कार्यकर्ताले भू–संरक्षण कार्यालयमा आगजनी गरिदिएका कार्यालयले जनाएको छ । आगजनीबाट कार्यालयका महत्वपूर्ण कागजात, टेबुल, कुर्सी, झ्याल, ढोका र फर्निचर जलेर नष्ट भएको बताइएको छ ।
मोर्चाका कार्यकर्ताले पूर्वपश्चिम राजमार्गमा रोकिइ राखेका गाडिलाई प्रहरीले सुरक्षा घेरा दिई गन्तव्यमा पु-याउन खोज्दा भारदहमा ना४ख ७०४५ नम्बरको बस र ना४ख १६०१ नम्बरको ट्रकमा ढुङ्गामुढा गरी तोडफोड गरेका छन् । तोडफोडबाट गाडीको सिसा फुटेको प्रहरीले जनाएको छ ।
यस्तै राजमार्गको बरमझियामा एउटा ट्रकमा पनि आगजनी गरिएको छ । आजगनीबाट ट्रकमा क्षति पुगेको बताइएपनि विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । यसैबीच, सदरमुकाम राजविराजस्थित दर्शन चोक र गजेन्द्र चोकमा प्रहरी र आन्दोलकारीबीच झडप भएको छ । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले २० राउण्ड अश्रु ग्यास र सात राउण्ड हवाई फायर गरेको छ ।
सप्तरीमा शनिबार राति भएको झडपका क्रममा तीन आन्दोलकारीको मृृत्यु भएपछि जिल्लाको विभिन्न स्थानमा मोर्चाको कार्याकर्ताले प्रदर्शन जारी राखेका छन् । मोर्चाका कार्यकर्ताको प्रदर्शनका कारण सप्तरीको अवस्था तनावग्रस्त रहको छ । कुनै अप्रिय घटना हुन नपाओस् भनेर ठाउँठाउँमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.