दल र मोर्चाबीचको वार्ता निष्कर्षविहिन

0

काठमाडौं, २९ कार्तिक । प्रमुख चार राजनीतिक दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीचको आजको वार्ता थप छलफल गर्ने सहमतिका साथ टुङ्गिएको छ । बैठकपछि नेपाली काँग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले आज सबै विषयमा अनौपचारिक छलफल भएको तर कुनै सहमति हुन भने नसकेको जानकारी दिनुभयो । आजको छलफलमा उठेका विषय आ–आफ्नो पार्टीमा थप छलफल गरेर फेरि बस्ने गरी वार्ता टुङ्गिएको उहाँले बताउनुभयो ।
उहाँले आजको बैठकमा सीमाङ्कनको विषय उठेपनि त्यसको विकल्पबारे भने छलफल नभएको बताउनुभयो । मोर्चाका नेता सङ्घीय समाजवादी फोरम (नेपाल) का अध्यक्ष उपेन्द्र यादवले पहिलो र दोस्रो मधेस आन्दोलनको दौरान भएको आठबुँदे सम्झौता र २२ बुँदे सम्झौता कार्यान्वयनको माग मोर्चाले वार्तामा राखेको बताउनुभयो ।
उहाँले आफूहरुले नयाँ माग नउठाएको जिकिर गर्दै पुरानो सम्झौता कार्यान्वयन गर्ने जिम्मा प्रमुख दलकै भएको बताउनुभयो । यादवले आजको वार्तामा प्रमुख दलले ठोस कुरा नल्याएको बताउँदै अर्को वार्तामा ल्याउने आश्वासन दिएको जानकारी दिनुभयो ।
बैठकमा एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले भोलि साँझसम्म आफूहरुले केही नयाँ प्रस्ताव ल्याउने आश्वस्त पार्नुभएको यादवले जानकारी दिनुभयो । उहाँले सरकारले यसअघि घोषणा गरेको आन्दोलनका क्रममा घाइतेको उपचार, पक्राउको रिहाई र मुद्दा फिर्ता लिने प्रतिबद्धता अझै पूरा नगरेको जिकिर गर्नुभयो ।
सिंहदरबारस्थित व्यवस्थापिका–संसद् सचिवालय परिसरमा भएको वार्तामा नेपाली काँग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवा, एमालेका वरिष्ठ नेता झलनाथ खनाल र कानुन तथा न्यायमन्त्री अग्नि खरेल, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, राप्रपा (नेपाल)का संसदीय दलका प्रमुख सचेतक दिलनाथ गिरी सहभागी हुनुहुन्थ्यो ।
मोर्चाबाट सङ्घीय समाजवादी फोरम (नेपाल)का अध्यक्ष उपेन्द्र यादव, नेता अशोक राई, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठी र सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण लगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो । नयाँ सरकार गठन भएपछि मधेसी मोर्चासँग भएको उक्त वार्तामा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस पहिलोपटक सहभागी भएको हो ।

Leave A Reply

Your email address will not be published.