म्याग्दी \ पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बेनीमा आइतबारदेखि सुरु भएको आठौं म्याग्दी महोत्सवको उद्घाटन गर्नुभएको छ। बेनीमा आजदेखि आगामी माघ ८ गतेसम्म सञ्चालन हुने आठौं म्याग्दी महोत्सव तथा माघे सङ्क्रान्ति मेलाको सभापति देउवाले उद्घाटन गर्नुभएको हो।
जिल्लाको पर्यटन प्रवर्द्धन, कला संस्कृतिको संरक्षण, कृषि तथा स्थानीय उत्पादनको बजारीकरण र आर्थिक कारोबारलाई चलायमान बनाउने उद्देश्यले म्याग्दी उद्योग वाणिज्य सङ्घले महोत्सव आयोजना गरेको हो।
महोत्सवको उद्घाटन कार्यक्रममा म्याग्दीमा जन्मिएर दक्षिण कोरियाका विभिन्न क्षेत्रमा लगानी गरेर उत्कृष्ट व्यावसायीको पहिचान बनाउनुहुने विनोद कुँवर र कृषि क्षेत्रमा खोज अनुसन्धान गर्दै आउनुभएका कृषि वैज्ञानिक टिकाबहादुर कार्कीलाई सभापति देउवाले प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको छ।
महोत्सवमा आउने अतिथिको स्वागतका लागि बेनी बजारलाई तोरण टाँगेर झिलिमिली बनाइएको छ। महोत्सवमा कृषि र पशुजन्य उत्पादनका साथै लघुउद्यम सम्बन्धी स्थानीय उत्पादनका सामग्री बिक्री र प्रदर्शनीमा राखिएको छ। महोत्सवले जिल्लाको व्यापार व्यवसाय र पर्यटन प्रवर्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो।