मधेस आन्दोलन सम्बोधन गर्न काँग्रेसले अग्रसरता लिने

0

काठमाडौं, २९ कार्तिक । व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले तराई–मधेसमा भइरहेको आन्दोलन सम्बोधन गर्न अग्रसरता लिने भएको छ । काँग्रेस संसदीय दलको कार्यालयमा आज भएको काँगे्रस पदाधिकारी बैठकमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग सम्बोधन गरी तराई–मधेसको समस्या समाधान गर्ने बारेमा छलफल भएको बैठकमा सहभागी केन्द्रीय सदस्य महेश आचार्यले बताउनुभयो । “तराई–मधेसको समस्या समाधानका लागि संसद्को आगामी बैठकमा संविधान संशोधनको प्रस्ताव अगाडि बढाउने विषयमा वातावरण बनाउन प्रयत्न गछाँै,” उहाँले भन्नुभयो ।
समस्या समाधानका लागि काँग्रेसले शनिबार मधेसी मोर्चामा आबद्ध दलका नेतासँग छलफल गरेको जानकारी गराउँदै उहाँले आन्दोलनका माग सम्बोधन गर्न काँग्रेस शीर्ष नेताले सत्ता पक्षका नेतासँग पनि औपचारिक– अनौपचारिक छलफल गरिरहेको बताउनुभयो । मोर्चाले उठाएको सीमाङ्कनको विषयसम्बन्धी विषयमा पनि व्यापक राजनीतिक सहमति जुटाउने प्रक्रियाको नेतृत्व काँग्रेसले गर्नुपर्छ भन्ने बारेमा छलफल भएको र त्यसका लागि अन्य पार्टीसँग पनि छलफल गरेर संविधान संशोधनको प्रस्ताव अघि बढाइने केन्द्रीय सदस्य आचार्यको धारणा थियो । काँग्रेसका शीर्ष नेताले आजै सत्ता पक्षका दलका नेतासँग छलफल गर्दै हुनुहुन्छ ।
बैठकमा काँग्रेसको १३औँ महाधिवेशनको तयारीका बारेमा समेत छलफल भएको उहाँले बताउनुभयो । काँग्रेस पदाधिकारीले आजै महाधिवेशन तयारीका लागि गठित समितिका संयोजकसँग छलफल गरी तयारीका बारेमा जानकारी लिने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.