भारतीय प्रधानमन्त्री मोदी युक्रेनमा, शान्तिका दूतका रूपमा प्रस्तुत हुने

0

किएभ \ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी युरोपेली दुई मुलुक पोल्याण्ड र युक्रेनको भ्रमणका सिलसिलामा शुक्रबार युक्रेनको राजधानी किएभ आइपुग्नुभएको छ । प्रधानमन्त्री मोदीले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग शुक्रबार किएभमा भेटवार्ता गर्ने कार्यक्रम छ ।

रूसले युक्रेनमा आक्रमण सुरू गरेको साढे दुई वर्षपछि युक्रेनले रूसी भूमिमा ठूलो प्रतिआक्रमण गरेको केही दिनपछि मोदीले आफूलाई सम्भावित शान्ति दूतका रूपमा प्रस्तुत गरिरहनुभएको छ ।

मोदीले आफ्नो भ्रमणअघि भन्नुभएको थियो, “युद्धभूमिमा कुनै पनि समस्याको समाधान हुन सक्दैन जतिसक्दो चाँडो शान्ति र स्थिरताको पुनर्स्थापनाका लागि भारत वार्ता र कूटनीतिक पहलको पक्षमा छ ।”

उहाँ युक्रेनको भ्रमण गर्ने पहिलो भारतीय प्रधानमन्त्री हुनुहुन्छ । रूसको पश्चिमी कुस्र्क क्षेत्रमा युक्रेनले गरेको आक्रमणपछि मस्को र किएभबीच कूटनीतिक सफलता पहिलेभन्दा बढी असम्भव देखिएको छ । युक्रेनका धेरैले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको निकै नजिकको रूपमा हेरेका मोदी स्वयं एक प्रभावकारी सम्झौताकर्ता हुन सक्नुहुन्छ वा हुँदैन स्पष्ट छैन ।

मोदीले जेलेन्स्कीसँग जारी युक्रेन द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि दृष्टिकोण आदानप्रदान गर्नुका साथै भारत र युक्रेनबीचको मित्रतालाई अझ प्रगाढ बनाउने विषयमा छलफल गर्ने योजना रहेको बताउनुभयो ।

युक्रेन प्रस्थान गर्नुअघि उहाँ बिहीबार पोल्याण्ड पुग्नुभएको थियो । “एक मित्र र साझेदारको रूपमा हामी यस क्षेत्रमा शान्ति र स्थिरताको शीघ्र पुनरागमनको आशा गर्दछौं,” मोदीले भ्रमणअघि सामाजिक सञ्जालमा भन्नुभएको छ । जेलेन्स्कीले मोदीसँगको भेटमा ‘धेरै दस्तावेजमा पनि हस्ताक्षर हुने अपेक्षा गरिएको’ बताउनुभएको छ ।

Leave A Reply

Your email address will not be published.