भारतीय सन्त पाइलट बाबाको निधन

0

हेटौँडा \  भारतीय सन्त पाइलट बाबाको ८६ वर्षको उमेरमा भारतको मुम्बइस्थित एक अस्पतालमा मंगलबार निधन भएको छ ।

मकवानपुरको त्रिखण्डीमा हरि गिरी महाराज नाम गरेका नेपाली सन्तसँग उनले सन् १९७४ मा दीक्षा लिएको संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोलाले जानकारी दिए । नेपाली गुरुसँग शिक्षा लिनुअघि उनी भारतीय वायुयान सेवामा पाइलट रहेकाले उनलाई पाइलट बाबा भनिएको हो । यही नामले उनी प्रसिद्ध भए ।

पाइलट बाबाले भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित घ्याम्पेडाँडामा पाइलट बाबा आश्रम बनाएका छन् । आश्रममा उनी बेला बेलामा आएर बस्ने गरेका थिए । नेपालमा उनका चिकित्सकलगायत विभिन्न पेशा र व्यवसायमा आबद्ध धेरै शिष्य छन् । भारतको प्रयोगमा हुने प्रत्येक कुम्भ मेलामा जाँदा नेपालीलाई बस्ने, खानेलगायत सुविधा दिई उनले आश्रय दिने गरेको पनि उनले बताए ।

पाइलट बाबा बिहारको सहर्षा जिल्लाको राजपरिवारका सदस्यका रुपमा जन्मिएका थिए । हरिद्वार र गङ्गोत्रीलगायत धेरै स्थानमा उनले जुना अखडा नामका आश्रम चलाउने गरेका थिए । उनलाई महामण्डलेश्वरको पदवीसमेत दिइएको थियो । जुना अखडाका सबै आश्रममा आजैदेखि तीन दिनसम्म शोक मनाउने जनाइएको छ । उनलाई उत्तराखण्डको पवित्र भूमिमा समाधि गरिने भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Leave A Reply

Your email address will not be published.