बङ्गलादेशमा हिंसा रोकेर देश निर्माणमा जुट्न अन्तरिम सरकारको आग्रह

0

बङ्गलादेशमा अन्तरिम सरकारको नेतृत्व गर्न लाग्नुभएका मोहम्मद युनुसले विरोध प्रदर्शन गरिरहेका विद्यार्थीलाई हिंसा रोकेर राष्ट्र निर्माणका लागि तयार रहन आह्वान गर्नुभएको छ । उपचारका लागि फ्रान्समा रहनुभएका युनुसले उतैबाट विद्यार्थीलाई शान्त हुन आग्रह गर्नुभएको बीबीसीले जनाएको छ  । उहाँँ आज ढाका गएर शपथ लिने तयारी भइरहेको छ ।

राष्ट्रपति र सेना प्रमुखले आन्दोलनरत विद्यार्थीसँग छलफल गरेपछि ८४ वर्षीय नोबेल पुरस्कार विजेता युनुसलाई अन्तरिम सरकारको नेतृत्व दिन लागिएको हो । विद्यार्थीले शुरु गरेको आरक्षण विरोधी आन्दोलन थेग्न नसकेपछि शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिँदै देश छाडेर भारत गएपछि युनुस अन्तरिम सरकार प्रमुख बन्नुभएको छ ।

यसैबीच गएको जनवरीमा युनुसलाई श्रम कानुन उल्लङ्घन गरेको आरोपमा ६ महिना जेल सजाय समेत सुनाइएकोमा हिजो अदालतले पुनरावेदनमा उहाँलाई श्रम सजायबाट सफाइ दिएको बीबीसीले जनाएको छ ।

यसैगरी बङ्गलादेशको सर्वोच्च अदालत बार एसोसिएसन (एससीबीए) ले पूर्वप्रधानमन्त्री शेख हसिना र उहाँकी बहिनी शेख रेहानालाई पक्राउ गरी बङ्गलादेशमा सुपुर्दगी गर्न भारतलाई आग्रह गरेको छ । बङ्गलादेशमा भएको हिंसामा निर्दोष नागरिकको ज्यान जानुमा उनीहरू जिम्मेवार रहेको र उनीहरूलाई बङ्गलादेश फिर्ता गरिनुपर्ने बताइएको हो ।

आरक्षण विरोधी आन्दोलनमा अहिलेसम्म ४ सय ५० भन्दा धेरै नागरिकको ज्यान गएको छ ।

Leave A Reply

Your email address will not be published.