मनसुन सुरु भएयता ५७ जनाको मृत्यु

0

काठमाडौँ \ मनसुन सुरु भएयता विभिन्न भूभागमा बाढी, पहिरो, भारी वर्षा, चट्याङ, सर्पदंश, जनावर आक्रमणलगायत विपत्बाट ५७ जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता छन् । यस वर्षको मनसुन जेठ २८ गते नेपाल भित्रिएको हो ।

त्यसयता एक सय जना घाइते र एक हजार २३ घरपरिवार प्रभावित बन्न पुगेका छन् । २० करोड ७३ लाख बराबरको अनुमानित आर्थिक क्षति भएको छ । अबको केही दिन मनसुनी प्रभाव पूर्वदेखि सुदूरपश्चिमसम्म अझ बढ्ने सम्भावना छ । विगत २४ घण्टामा मात्र देशका विभिन्न भूभागमा २९ वटा पहिरो गएको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । जल तथा मौसम विज्ञान विभागले अबको केही दिन मध्य तथा सुदूरपश्चिसम्मको भूभागमा मुसलधारेसम्म वर्षा हुने पूर्वानुमान गरेसँगै बाढी पहिरोसहितका विपत्को जोखिम थप उच्च बनेको छ । मौसमविद् सञ्जीव अधिकारीका अनुसार मौसममा सुधार हुने अवस्था छैन ।

पूर्वबाट पश्चिम केन्द्रित 

विभागले बिहीबार जारी गरेको विशेष मौसम बुलेटिन अनुसार पूर्व र मध्य भूभागमा बढी वर्षा भएको छ । केही दिन पश्चिम, कर्णाली र सुदूरपश्चिममा भारी वर्षा हुने छ । मौसमविद् अधिकारीले भन्नुभयो, “गण्डकी, कर्णाली र सुदूरपश्चिममा निकै ठुलो वर्षा हुने देखिएको छ, जसले विपत् नल्याउला भन्न सकिन्न ।” मनसुनको न्यूनचापीय रेखा उत्तरबाट सर्दै नेपालको दक्षिण सीमा आसपास अझै केही दिन रहने छ । जसका कारण मनसुनको सक्रियता पश्चिमी भेगमा बढ्ने भएकाले सरोकारवाला निकायलाई सतर्क रहन भनिएको छ ।

पहिरो जाने खतरा उच्च 

गण्डकी प्रदेशदेखि सुदूरपश्चिम भूगोलको नेपालका पहाड गत वर्ष लगातार गएका ठुलासाना भूकम्पले थिलथिलो बनेको छ । मनसुनको परिवर्तित खण्डित वर्षाले ती पहाडहरूमा पहिरो जाने उच्च खतरा रहेको पहिरोविज्ञ शिवकुमार बाँस्कोटाले बताउनुभयो ।

पूर्व, मध्य र पश्चिम पहाडमा धेरै मानव बस्ती रहेकाले पहिरोले जनधनको क्षति गर्ने उच्च सम्भावना रहेको उहाँले बताउनुभयो । त्यसमाथि भौतिक पूर्वाधार र सडक निर्माणले थप गिजोलेकाले यो वर्षामा अझ असुरक्षित बनेको छ ।

उहाँले भन्नुभयो, “जाजरकोटदेखि माथिका पहाड भूकम्पले हल्लिएका छन्, अलिकति बढी वर्षा भए पनि जाजरकोट, पश्चिम रुकुम, कालीकोट, अछाम, दार्चुला, डोटी, डढेल्धुरा पहिरोका हिसाबले अति संवेदनशील छ ।” विभिन्न भौगर्भिक अध्ययनले ती पहाडका चट्टानको स्वरूप संरचना बिग्रिसकेको देखाएको छ । यस्तोमा मान्छे मार्ने पहिरोका रूपमा चिम्ट्याइलो माटो र गेग्य्रानको पहिरो जान सक्छ । कमजोर भूभागमा पहिरो गइहाल्ने अवस्था छ । खण्डवृष्टिले त्यो क्रम बढाउन सक्ने भएकाले थप सतर्क रहनुपर्ने उहाँको जोड छ ।

पहिरोबाट जोगिन के गर्ने ?

पहिरोविद् बाँस्कोटाका अनुसार ठुलो पानी पर्ने सम्भावना देखाइएका ठाउँमा सचेतना नै पहिलो सर्त हो । पहिरोको वैज्ञानिक पूर्वानुमान गर्न नसकिए पनि केही पूर्वसङ्केत पछ्याउन सके ठुलो जनधनको क्षति कम गर्न सकिन्छ ।

घर वरपर जमिन चिरा परेको, घर ढल्किएको, ढोका झ्याल खोल्न र बन्द गर्न अप्ठ्यारो परेको, पानीका मूल सुक्ने र नयाँ मूल देखिने, खोल्साको बहाव घटबढ हुने, अनायासै नदी कटान भइरहेको देखिएमा अब पहिरो जान्छ भनेर बुझ्नुपर्ने उहाँले सुझाउनुभयो । त्यसैले जोखिमपूर्ण क्षेत्रमा रातमा पालो बसेर कुर्ने, उज्यालो बत्ती साथमा राख्ने, आपत्कालीन अवस्थामा घर छाड्नुपर्ने अवस्था आउन सक्ने भएकाले अत्यावश्यक सामान ठिक्क पारेर राख्न पनि उहाँले सुझाव दिनुभयो ।

पश्चिम नेपाल आर्थिक रूपमै पनि प्राकृतिक प्रकोपसँग जुध्न नसक्ने अवस्थाको सामाजिक भूगोल रहेकाले सरकारी निकायले पूर्वतयारीमा बढी जोड दिनुपर्ने बाँस्कोटाले औँल्याउनुभयो ।

मनसुनका कारण आइपर्ने बाढी, पहिरो, डुबानलगायतका विपत्को सामना गर्न सरकारका सबै निकाय उच्च सतर्क अवस्थामा रहेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.