नेपालका बारेमा चीनले भारतसँग वार्ता गर्ने

0

काठमाडौं, १२ कार्तिक । चीनले भारतद्वारा नेपालमाथि लगाउँदै आएको अघोषित नाकाबन्दीका बारेमा भारतसँग छलफल गर्ने भएको छ । नेपाललाई पेट्रोलियम पदार्थ उपलब्ध गराउनेबारेमा सम्झौता गरेको चीनले नेपाल र भारतबीचको सम्बन्धमा सुधार ल्याउन भारतसँग वार्ता गर्ने चासो देखाएको हो । चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता लु काङ्गले नेपाल र भारत चीनका छिमेकी मुलुक भएको प्रष्ट पार्दै क्षेत्रीय स्थिरताका लागि नेपाल र भारतबीचको सम्बन्धमा चीनको चासो रहेको जनाएका हुन् ।
बुधबार बेइजिङमा नियमित पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘हामी क्षेत्रीय स्थिरताका पक्षमा छौं र देशहरुबीच मैत्रीपूर्ण सम्बन्धका लागि सम्बन्धित देशहरुसँग वार्तामा बस्त र मित्रवत छलफल गर्न तयार छौं ताकि आम सहमतिमा पुग्न सकियोस् ।’
उनले भने, ‘चीन र नेपालबीच मित्रवत सम्बन्ध रहँदै आएको छ । नेपालका लागि एक छिमेकी राष्ट्रका रुपमा हामी आशावादी छौं कि नयाँ संविधान जारी भएसँगै जतिसक्दो चाँडो नेपालमा स्थिरता वहाल हुनेछ र नेपालले विकासका लागि एक उज्जवल संभावनाको सुरुवात गर्नेछ ।’नेपाली पक्षको अनुरोधका आधारमा चीनले आफ्नो क्षमताअनुसार नेपाललाई सहयोग उपलब्ध गराउने प्रष्ट पार्दै उनले इन्धन आपूर्तिका बारेमा दुबै पक्षबीच छलफल भइरहेको जनाए ।

Leave A Reply

Your email address will not be published.