भिजिट भिसामा फेरि कडाइ

0

काठमाडौँ \ त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयले नयाँ नीतिगत निर्णयबिना नै भिजिट भिसामा फेरि कडाइ गरेको छ । अध्यागमनले चार दिनयता भिजिट भिसाका चार सय ८ जनालाई विमानस्थलबाट फिर्ता पठाएको हो । उनीहरूको टिकटबापत मात्रै कम्तीमा एक करोड रुपैयाँ गुमेको छ ।

अध्यागमनले गत माघ ९ देखि जारी गरेको कार्यविधिअनुसार मापदण्ड पुगेकालाई अफलोड गर्न थालेको हो । अध्यागमनले जेठ ३० मा ५५ जना, ३१ मा ६२, ३२ मा २ सय ३७ र असार १ मा (शनिबार) बिहानसम्म ५४ जनालाई अफलोड गरेको छ ।

गत माघ ८ मा तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले भिजिट भिसासम्बन्धी सरकारले लिएको नीतिले अध्यागमनमा मिलेमतो गरी अवैध कारोबार भएको भन्दै लचिलो नीति बनाएका थिए । उनले २०७८ चैत २६ मा सचिवस्तरको निर्णय खारेज गरी भिजिट भिसामा विदेश प्रस्थान गर्दा नेपाली यात्रुलाई अध्यागमन कार्यविधि २०६५ को दफा ३.१ (२) को (घ)को अलावा थप ६ बुँदालाई आधार मानी प्रस्थान अनुमति दिने निर्णय गरेका थिए ।

कार्यविधिमा ६ महिनाको वैध अवधि भएको राहदानी, गन्तव्य देशको प्रवेशाज्ञा भिसा वा अन अराइभल भिसा प्राप्त हुने मुलुक भए भिसा नचाहिने, दुईतर्फी हवाई टिकट, होटल बुकिङ, आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र, भ्रमणको सम्पूर्ण खर्च व्यहोर्ने सरकारी वा गैरसरकारी संस्थाको निमन्त्रण पत्र वा सो नभएमा कम्तीमा ५ सय डलर बराबरको नगद सटही भएको प्रमाण भिजिट भिसामा विदेश जान पाइने व्यवस्था गरिएको छ । संयुक्त अरब इमिरेट्स, बहराइन, कुवेत, कतार, ओमन, साउदी अरबमा भिजिट भिसामा भ्रमण गर्दा स्वघोषणा गर्नुपर्ने उल्लेख छ ।

सोही नीतिअनुसारको मापदण्ड लागू भइरहेको अवस्थामा अध्यागमनले आफूखुसी भिजिट भिसामा जानेलाई अफलोड गर्न थालेको हो । ‘हामीलाई दैनिक कम्तीमा ६० जना अफलोड गर्न अध्यागमन कार्यालय प्रमुखको मौखिक आदेश छ । आदेश कार्यान्वयन गर्नु हाम्रो बाध्यता छ,’ एक अध्यागमन अधिकृतले भने ।

Leave A Reply

Your email address will not be published.