प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्रीको शपथ समारोहमा सरिक

0

काठमाडौँ \  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुनुभएको छ । प्रधानमन्त्री  प्रचण्ड भारतीय राष्ट्रपति भवनको प्राङ्गणमा शनिबार साँझ आयोजित विशेष समारोहमा सहभागी हुनुभएको  हो ।

प्रधानमन्त्री मोदीलाई तेस्रो कार्यकालका लागि राष्ट्रपति द्रोपदी मुर्मुले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । शपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री प्रचण्ड, श्रीलङ्काका राष्ट्रपति रणील विक्रमासिङ्गे, मालदिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, मौरिससका प्रधानमन्त्री प्रबिन्द जुग्नौथलगायत विशिष्ट अतिथि उपस्थित हुनुहुन्थ्यो ।

यसैगरी, समारोहमा भारतका विभिन्न राजनीतिक दलका नेता तथा लब्धप्रतिष्ठित व्यक्तित्वहरुको सहभागिता थियो । सोही समारोहमा भारतका नवनियुक्त मन्त्रीहरुले समेत पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।

प्रधानमन्त्री प्रचण्डले भारतका प्रधानमन्त्री मोदीको निमन्त्रणामा शपथग्रहण समारोहमा सहभागी हुनुभई शुभकामना व्यक्त गर्नुभएको छ ।

भारतमा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धनले बहुमत ल्याएपछि नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि आइतबार प्रधानमन्त्रीका रूपमा शपथ लिनुभएको हो ।

भारतीय जनता पार्टी नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) का संसदीय दलका नेता मोदीले आइतबार नयाँदिल्लीमा विभिन्न राष्ट्रका प्रमुख तथा सरकार प्रमुखको उपस्थितिमा आयोजित विशेष समारोहमा शपथग्रहण गर्नुभएको हो ।

मोदी सन् २०१४ मा पहिलो पटक र सन् २०१९ मा दोस्रो कार्यकालका लागि प्रधानमन्त्री निर्वाचित हुनुभएको थियो । भाजपासहितको राष्ट्रिय लोकतान्त्रिक गठबन्धनले लोकसभाका ५४३ मध्ये २९३ सिटमा जित हासिल गरेपछि उहाँकै नेतृत्वमा सरकार गठन भएको हो ।

Leave A Reply

Your email address will not be published.