कांग्रेस पदाधिकारीले राष्ट्रपति उम्मेदवार चयन गर्ने

0

काठमाडौं, ७ कार्तिक । नेपाली काँग्रेसले राष्ट्रपति र उपराष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गर्नुका साथै उम्मेदवार चयनको जिम्मेवारी पार्टी पदाधिकारीलाई दिएको छ । नयाँवानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पार्टीको आज भएको केन्द्रीय कार्य समितिको बैठकले उक्त निर्णय गरेको हो । पार्टीको अर्को बैठकले उम्मेदवारसम्बन्धी निर्णय गर्नेछ ।
बैठकले व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गरेका सबै दलसँग परामर्श गरेर अगाडि बढ्ने निर्णय गरेको पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडूले बैठकपछि सञ्चारकर्मीहरूलाई बताउनुभयो ।
व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित गर्नुपर्नेमा जोड दिँदै बैठकले अल्पसङ्ख्यक, आदिवासी, जनजाति, पिछडावर्ग, महिला, दलित, मुस्लिमलगायतको अधिकार सुनिश्चित गर्न संशोधन अपरिहार्य भएको ठहर बैठकले गरेको उहाँले जानकारी दिनुभयो । नेपाल भारत सीमा नाकामा उत्पन्न अवरोध कूटनीतिक माध्यमबाट तत्काल अन्त्य गर्न सरकारलाई सुझाउँदै बैठकले देशभर देखिएको अत्यावश्यक वस्तुको अभाव हटाउनुपर्ने आवश्यकता औँल्याएको छ ।

Leave A Reply

Your email address will not be published.