बजेट लेख्ने काम शुरु, सुझाव पठाउन अर्थ मन्त्रालयको आग्रह

0

आउँदो आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट मस्यौदा लेख्ने काम शुरु भएको छ । अर्थ मन्त्रालयले बजेट तथा कार्यक्रमका लागि सबैसँग सुझाव समेत मागेको छ । वैशाख मसान्तभित्र सुझाव पठाउन मन्त्रालयले विभिन्न सङ्घ, संस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारजगत तथा आम नागरिकहरुलाई आग्रह गरेको हो ।

मन्त्रालयको वेबसाइटमा रहेको ‘बजेट सजेसन‘मा गएर वा इमेल पठाएर सुझाव दिन सकिन्छ । बजेट मस्यौदा लेखनको काम शुरु भएको र मन्त्रीसहित सबै कर्मचारी बजेट निर्माणमा केन्द्रीत हुनुपर्ने भएकाले अत्यावश्यकबाहेक भेटघाटमा नआइदिन पनि मन्त्रालयले आग्रह गरेको छ ।

गएको शुक्रवार अर्थमन्त्री वर्षमान पुनले सहसचिव धनिराम शर्मा नेतृत्वमा बजेट मस्यौदा लेखन समिति गठन गर्नुभएको थियो । समितिमा सहसचिचवहरु रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य छन् । समितिले अस्ति शनिवारदेखि नै बजेट मस्यौदा लेखनको काम थालिसकेको छ ।

हरेक वर्ष जेठ १५ गते आगामी वर्षको बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । यसवर्ष सरकारले बजेट निर्माणको कार्यतालिकामा हेरफेर गर्दै बजेटका सिद्धान्त र प्राथमिकता संसदमा पेस गरिसकेको छ ।

दुवै सदनबाट बजेटका सिद्धान्त र प्राथमिकता पारित पनि भैसकेको छ ।

Leave A Reply

Your email address will not be published.