अर्थतन्त्रमा सकारात्मक संकेत देखिएको छ : अर्थमन्त्री

0

बागलुङ \ अर्थमन्त्री डा. प्रकाशसरण महतले मुलुकको अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा पर्न थालेको बताउनुभएको छ । अर्थतन्त्रको कठिनपूर्ण अवस्थाबाट देशले विस्तारै सकारात्मक दिसातर्फको बाटो समातेको उहाँको भनाइ छ ।

बागलुङको पञ्चकोटमा जारी अनन्तश्री ब्रह्माण्डीय महायज्ञको दशौं दिन शुक्रबार पञ्चकोटमा आउनुभएका अर्थमन्त्री डा. महतले सरकारको सकरात्मक पहलबाट मुलुकको अर्थतन्त्र चलायमान हुनथालेको बताउनुभयो ।

कोभिड महामारीका कारण अर्थतन्त्रमा आएको शिथिलता, पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा देखापरेको समस्याका कारण मुलुकको आर्थिक अवस्था कठिनपूर्ण थियो, अर्थमन्त्री महतले भन्नुभयो, ‘‘सरकारको निरन्तर सकारात्मक प्रयासका कारण  अर्थतन्त्रले आफ्नो लय समातेको छ । देशमा पर्यटक आगमन वृद्धि भएको छ ।’

बैंक तथा वित्तिय संस्थाहरुमा देखा परेका समस्याहरु विस्तारै समाधान हुनथालेको उहाँले चर्चा गर्नुभयो । बैंकको ब्याजदर पनि घटन थालेको उहाँले बताउनुभयो । मुल्यवृद्धि घटेर लगानी गर्ने वातावरण तयार हुँदैगएको उहाँको भनाइ छ ।

सरकारले अर्थतन्त्रमा देखिएका समस्यालाई समाधान गर्न पहल गरेका कारण आर्थिक गतिविधिहरु विस्तारै बढ्न थालेको उहाँले चर्चा गर्नुभयो । राष्ट्रिय गौरबका आयोजना मध्यपहाडी राजमार्ग र कालिगण्डकी कोरिडोरलाई पूर्णता दिन सरकारले आगामी बजेटमा पनि प्राथमिकता दिने उहाँले बताउनुभयो ।

बागलुङको पञ्चकोटलगायतका पर्वत, म्याग्दी र मुस्ताङका धार्मिकस्थललाई जोड्नेगरी सडक पूर्वाधार निर्माणमा सरकारले लगानी बढाउने अर्थमन्त्री महतले विश्वास दिलाउनुभयो ।

Leave A Reply

Your email address will not be published.