प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरुको शपथ ग्रहण

0

काठमाडौँ, २५ असोज । राष्ट्रपति डा रामवरण यादवले नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनियताको शपथ गराउनुभयो । व्यवस्थापिका¬–संसद्को आइतबार भएको निर्वाचनमा नेकपा (एमाले)का अध्यक्ष ओली प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएको थियो । उहाँ नेपालको संविधान जारी भएपछि प्रधानमन्त्री पदमा आशिन हुने पहिलो प्रधानमन्त्री हुनुभएको छ ।
सोही समारोहमा राष्ट्रपति डा यादवले नवनिर्वाचित प्रधानमन्त्री ओलीको समुपस्थितिमा कमल थापा र विजयकुमार गच्छदारलाई उपप्रधानमन्त्रीको पद तथा गोपनियताको सपथ गराउनुभयो । नवनियुक्त उपप्रधानमन्त्री थापा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको अध्यक्ष हुनुहुन्छ भने गच्छदार मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष हुनुहुन्छ ।
यसैगरी राष्ट्रपति डा यादवले सोही समारोहमा नवनियुक्त पाँच जना मन्त्रीलाई पद तथा गोपनियताको सपथ गराउनुभयो । यसरी पद तथा गोपनियताको सपथ लिने मन्त्रीहरुमा नेकपा (एमाले)का तर्फबाट अग्नि खरेल, सोमप्रसाद पाण्डे र सत्यनारायण मण्डल हुनुहुन्छ भने एकीकृत नेकपा (माओवादी)का तर्फबाट हरिबोल गजुरेल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका तर्फबाट रामकुमार सुब्बा हुनुहन्छ ।
समारोहमा उपराष्ट्रपति परमानन्द झा, निवर्तमान प्रधानमन्त्री सुशील कोइराला, सभामुख सुवासचन्द्र नेम्बाङ, कामु प्रधानन्यायाधीश गिरिशचन्द्र लाल, पूर्व प्रधानमन्त्रीहरु, संवैधानिक अङ्गका प्रमुखहरु, मुख्यसचिव, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु, सभासद्हरु, तीनै सुरक्षा निकायका प्रमुखहरु, नेपाल सरकारका उच्च अधिकृतहरु सहभागी हुनुहुन्थ्यो ।

Leave A Reply

Your email address will not be published.