मुलुकको अर्थतन्त्र लयमा फर्किँदै छ : अर्थमन्त्री डा. महत

0

काठमाडौँ \  अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र लयमा फर्कदै गएको बताउनुभएको छ । इकोनोमिक मिडिया एशोसिएसन नेपाल (इमान) को प्रथम वार्षिकोत्सवका अवसरमा आज आयोजित ‘अर्थतन्त्र पुनरुत्थानमा सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रियामा उहाँले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा अगाडि बढ्दै गएको बताउनुभएको हो ।

“विगतका दिनमा धेरै रकम अनुत्पादक क्षेत्रमा खर्च भयो, उक्त खर्चको दायित्व तिर्दा अर्थतन्त्र केही दबाबमा परेको थियो, पुँजीगत खर्च अब बढ्छ, त्यो विस्तारै समाधान हुँदैछ, अर्थतन्त्र लयमा फर्कँदै छ”, उहाँले भन्नुभयो ।

अर्थमन्त्री डा महतले बैंक तथा वित्तीय क्षेत्रबाट लिएको ऋण तिनुपर्ने बताउनुभयो । “बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण कुनै हालतमा पनि तिनुपर्छ”, उहाँले भन्नुभयो । उहाँले निजी क्षेत्र, सञ्चारकर्मी, सरकार, नागरिक समाज, समग्र जनता मिलेर मुलुकको अर्थतन्त्रलाई सपार्ने बाटोमा लाग्नुपर्ने बताउनुभयो ।

सबै क्षेत्रको सामूहिक प्रयासबाट मात्र अर्थतन्त्रले गति लिने उहाँको भनाइ छ । उहाँले अर्थतन्त्रले पछिल्लो समय राम्रो गति लिएको तथ्याङ्कले देखाएको बताउनुभयो । “हामीसँग पुँजी छ, तर खर्च गर्न समस्या भएको छ, आगामी दिनमा खर्च पनि बढ्छ”, उहाँले भन्नुभयो ।

नेपाल राष्ट्र बैंककका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले पछिल्लो समय नेपालको अर्थतन्त्र गतिशील बन्दै गएको बताउनुभयो । उहाँले आयात विस्तारै घट्दै जानुका साथै विप्रेषणसमेत बढ्दै गएको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.