सुर्खेत \ कर्णाली प्रदेशमा आन्तरिक हवाई सेवा सञ्चालनका लागि तयारी भइरहेको छ । सुर्खेत विमानस्थलबाट हिमाली जिल्लामा रहेका विमानस्थलमा आन्तरिक हवाई उडान सेवा सञ्चालन गर्ने तयारी भइरहेको हो । त्यसका लागि कर्णालीको निजी क्षेत्र, प्रदेश सरकार र प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदहरूले निरन्तर पहल गरिरहेका छन् । सबैको आग्रहलाई सम्बोधन गर्दै नेपाल वायुसेवा निगमले आन्तरिक हवाई सेवा विस्तारका लागि पहल थालेको छ ।
फागुन महिनाभित्रै हवाई उडान सेवा सुचारु गर्ने गरी तयारी भइरहेको बताइएको छ । मंगलबार मुख्यमन्त्री राजकुमार शर्मा, नेपाल वायुसेवा निगमका सुर्खेत उडान समितिका संयोजक महेश कुमार मरिता, नेपाल वायु सेवा निगमका इन्जिनियरिङ मेन्टेन्यास डिपार्टमेन्टका म्यानेजर देवेन्द्र पुन, नागरिक उड्डयन कार्यालय सुर्खेतका प्रमुख राजन ढुङ्गेल लगायतले सुर्खेत विमानस्थलको अनुगमन समेत गरेका छन् ।