यु–१९ विश्वकप क्रिकेट : भारतले नेपाललाई दियो २९८ रनको चुनौतीपूर्ण लक्ष्य

0

काठमाडौ  \ दक्षिण अफ्रिकामा जारी आइसिसी यु–१९ विश्वकपको सुपर सिक्सको दोस्रो खेलमा भारतले नेपाललाई जितको लागि दुई सय ९८ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । माङ्गाउङ ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेटको क्षतिमा दुई सय ९७ रन बनाएको हो ।

भारतका लागि सचिन दास र कप्तान उदय सरनले शतकीय पारी खेल्नुभयो । सचिनले एक सय १६ रन बनाउनुभयो । उहाँले एक सय एक बलमा ११ चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । उदयले सय रन बनाउनुभयो । उहाँले एक सय सात बलमा नौ चौकाको सहयोगमा शतक बनाउनुभएको हो ।

यस्तै ओपनर आर्दश सिंहले २१, प्रियांशु मोलियाले १९, आर्सिन कुलकर्नीले १८ र मुसिर खानले अविजित नौ रन बनाउनुभयो । बलिङमा नेपालका गुलशन झाले तीन तथा र अकाश चन्दले एक विकेट लिनुभयो ।

नेपाल सुपर सिक्सको पहिलो खेलमा बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको थियो । सुपर सिक्सको खेल अघिनै सेमिफाइनल दौडबाट बाहिरिएको नेपाल आज भारतलाई हराउँदै प्रतियोगिताको सुखद अन्त्य गर्ने योजनामा छ ।

भारतसमेत पराजित रहँदै तीन खेलमा ६ अङ्कका साथ शीर्षस्थानमा छ । नेपाललाई हराए भारत सेमिफाइनलमा पुग्नेछ । भारत पराजित भए पनि नेट रनरेटको आधारमा सेमिफाइनलमा पुग्ने सम्भावना बलियो छ ।

Leave A Reply

Your email address will not be published.