त्रिभुवन विश्वविद्यालयको परीक्षासम्बन्धी सेवा अनलाइन प्रणालीमार्फत् दिन शुरु

0

त्रिभुवन विश्वविद्यालयले आजदेखि परीक्षासम्बन्धी सेवा अनलाइन प्रणालीमार्फत् दिन शुरु गरेको छ । अब विद्यार्थीले परीक्षाका प्रमाणपत्र लिनका लागि घरबाटै आवेदन गर्नसक्ने भएका छन् । त्रिभुवन विश्वविद्यालयले स्थापनाको ७४औँ वर्षमा पहिलो पटक अनलाइन सेवामा प्रवेश गरेको हो ।

अनलाइन सेवाको उद्घाटन गर्दै त्रिभुवन विश्वविद्यालयका कार्यवाहक उपकुलति शिवलाल भुसालले परीक्षाका सबै कार्यलाई अनलाइनमार्फत गर्ने विश्वविद्यालयको अभियान शुरु भएको बताउनुभयो । यसअघि प्रमाणपत्र प्राप्त गर्न बल्खुमा रहेको कार्यालयमा नै गएर आवेदन दिनुपर्ने व्यवस्था थियो ।

अनलाइन सेवा शुरु भएपछि विद्यार्थीले ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, मूल प्रमाणपत्र, पुनर्योग र प्रमाणपत्र सच्याउने जस्ता कार्यका लाग घरैबाट अनलाइन निवेदन दिन सक्नेछन् । विद्यार्थीले अनलाइनबाटै फाराम भरेर तोकिएको प्रमाण संलग्न गर्ने र नेपाल बैंक वा ग्लोबल आइएमइ बैंकमा तोकिएअनुसारको शुल्क तिरेर निवेदन दिन सक्नेछन् ।

चौबिसै घन्टा चल्ने प्रणालीमा निवेदन दिएपछि विद्यार्थीको निवेदन स्वीकृत वा अस्वीकृत भएको जानकारी कार्यालय समयभित्र विद्यार्थीले पाउनेछन् । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार अस्वीकृत भएमा त्यसको कारणसमेत खुलाइ सच्याएर वा नपुग विवरण राखेर पुनःआवेदन गर्नसमेत विद्यार्थीलाई आग्रह गरिनेछ ।

निवेदनमा सबै प्रमाण पुगेको वा मिलेको छ भने निवेदन दिएको एक हप्ताभित्र प्रमाणपत्र तयार हुने जोशीले बताउनुभयो । तयार भएको प्रमाणपत्र लिन सम्बन्धित परीक्षार्थी काठमाण्डौ उपत्यकाको हकमा परीक्षा नियन्त्रण कार्यालय बल्खुमै जानुपर्नेछ ।
उपत्यका बाहिरका विद्यार्थीले भने प्रमाणपत्र लिनका लागि सम्बन्धित क्षेत्रीय शिक्षा निर्देशनालय जानुपर्ने हुन्छ ।

तर दोस्रो चरणमा सम्बन्धित क्याम्पसमै उपलब्ध गराउने तयारी छ । अबको एक महिना अनलाइन र आफैँ बल्खु आएर निवेदन दिनेगरी दुईवटै प्रणाली राख्ने त्रिविले जनाएको छ । अनलाइन सेवामा २०५४ सालपछिका प्रमाणपत्रको काममात्र समेट्ने जानकारी परीक्षा नियन्त्रक जोशीले दिनुभयो ।

Leave A Reply

Your email address will not be published.