प्रधानमन्त्रीका लागि कोइरालाको उम्मेदवारी दर्ता

0

काठमाडौँ, २३ असोज । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले नयाँ प्रधानमन्त्रीको लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वर पुगेर उहाँले प्रधानमन्त्री पदको उम्मेदवारी दर्ता गराउनुभएको हो । कोइरालाको प्रस्तावकमा वरिष्ठ नेता शेरबहादुर देउवा हुनुहुन्छ भने समर्थकमा उपसभापति रामचन्द्र पौडेल हुनुहुन्छ ।
नेपाली काँग्रेसका सांसदहरु पनि साथमा सहभागी हुनुहुन्थ्यो । यस्तै उम्मेदवारी दर्ता गराउँदा महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालगायत नेताहरु पनि सहभागी हुनुहुन्थ्यो । काँग्रेसको आज बिहान बसेको केन्द्रीय कार्य समिति र संसदीय दलको संयुक्त बैठकले कोइरालालाई नै प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
सोही निर्णयका आधारमा उम्मेदवारी दर्ता गराइएको काँग्रेसले जनाएको छ ।
राष्ट्रपति डा रामवरण यादवसमक्ष प्रधानमन्त्रीको पदबाट राजीनामा दिएर आउनु भएलगत्तै कोइरालाले उम्मेदवारी दर्ता गराउनुभएको हो । यसअघि नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता गराइसक्नु भएको छ ।
व्यवस्थापिका–संसद् सचिवालयले आज बिहान ११ बजेदेखि अहराह्न ४ बजेसम्म प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता गराउने समयसीमा दिएको छ । उम्मेदवारी दर्ता गराउने समयसीमा सकिएलगत्तै अपराह्न ४.३० बजे अन्तिम नामावली प्रकाशित गर्ने कार्यसूची रहेको छ । आइतबार बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्रीको उम्मेदवारको समर्थक र प्रस्तावकले धारणा राखेपछि मतदान प्रक्रिया सुरु हुने सचिवालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.