रुकुम पश्चिमबाट नौ करोडको अदुवा बिक्री

0

रुकुम पश्चिम \ व्यावसायिकरूपमा अदुवाखेती गरेका रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–४ खुम्चेरीका नरबहादुर खड्काले यस वर्ष अदुवा बिक्रीबाट राम्रो आम्दानी भएको बताए । गत वर्षको भन्दा यस वर्ष अदुवाले दोब्बर मूल्य दिँदा बिक्रीबाट रु एक लाख आम्दानी भएको उनको भनाइ थियो । विगत २० वर्षदेखि अदुवाखेतीमा लागेका खड्काले निरन्तर अदुवाखेती गर्दै आएका छन् ।

यस वर्ष उत्पादन भएको तीन क्विन्टलभन्दा बढी अदुवा बीउको लागि र १२ क्विन्टल अदुवा प्रतिक्विन्टल रु चार हजारदेखि रु आठ हजारका दरले बिक्री गरेको खड्काले बताए । सोही ठाउँकै ५५ वर्षीय किसान हरिबहादुर खड्काले यस वर्ष अदुवा उत्पादनमा केही कमी भए पनि मूल्य भने राम्रो पाइएकामा भने खुसी भएको बताए । विगत ३० वर्षदेखि निरन्तर कृषि पेसा गर्दै आएका उनले यस वर्ष अदुवा बिक्रीबाट रु एक लाख ५० हजार आम्दानी गरेको बताए । अदुवा गाउँबाटै खैन (खानका लागि प्रयोग) प्रतिक्विन्टल रु चार हजार र बीउको लागि प्रयोग हुने अदुवा प्रतिक्न्विन्टल रु आठ हजारदेखि रु १० हजारसम्ममा बिक्री भएको थियो ।

जिल्लामा यस वर्ष किसानले उत्पादन गरेको अदुवाले राम्रो मूल्य पाए पनि गत वर्षको तुलनामा यस वर्षमा उत्पादनमा भने कमी आएको कृषि विकास कार्यालयका निमित्त प्रमुख मीनबहादुर केसीले जानकारी दिए । उनका अनुसार उत्पादनमा कमी भए पनि अदुवाको मूल्य तेब्बरले वृद्धि हुँदा किसानले गत वर्षको भन्दा राम्रो आम्दानी गरेका हुन् । गत वर्ष प्रतिक्विन्टल रु दुई हजार पाँच सयमा अदुवा बिक्री गरेका किसानले यस वर्ष प्रतिक्विन्टल रु पाँच हजारदेखि रु आठ हजारसम्ममा बिक्री गरेका छन् । जिल्लामा मुख्यगरी त्रिवेणी गाउँपालिकामा राम्रो अदुवा उत्पादन हुने गरेको छ । त्यस्तै सानीभेरी गाउँपालिका, मुसीकोट नगरपालिका र आठबीसकोट नगरपालिकामा पनि केही मात्रामा अदुवा उत्पादन हुने गरेको निमित्त प्रमुख केसीले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.