२० प्रकारका औषधि उत्पादन गर्दै औषधि लिमिटेड

0

काठमाडौँ \ कोरोना त्रासदीका बिच सेता पत्ताको सिटामोलको व्यापक अभाव भयो । त्यसो त बजारमा सिटामोल नपाइएको होइन, तर आम रूपमा सेतो पत्ताको सिटामोलप्रतिको विश्वसनीयताका कारण जताततै यसको माग चुलिएको थियो । र, यो उत्पादन थियो नेपाल औषधी लिमिटेडको । दर्जनौँ औषधी उत्पादन कम्पनी र विदेशका निजी कम्पनीहरूले समेत औषधी बजारमा प्रभाव जमाइरहेको बेला गुणस्तरमा विश्वसनीयता जगाउन सक्नु चानचुने कुरा भने थिएन ।

अहिले भने नेपाल औषधी लिमिटेडले महत्त्वाकाङ्क्षी योजना अघि सारेको छ । हाल उत्पादन गरिरहेका औषधीका अतिरिक्त सरकारले जनतालाई निःशुल्क वितरण गर्नका लागि आवश्यक पर्ने औषधी लिमिटेडले आफैँ उत्पादन गर्ने अन्तिम तयारी सम्पन्न भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि सरकारबाट उपलब्ध हुँदै आएको ९८ प्रकारका औषधीमध्ये २० प्रकारका औषधि लिमिटेडले उत्पादन गर्ने योजना बनाएको हो ।

स्वदेशमै उत्पादन गरेर लिमिटेडले सरकारलाई औषधि बिक्री गर्ने तयारी गरेको महाप्रबन्धक कैलाशकुमार पनेरुले जानकारी दिनुभयो । प्रधानमन्त्रीको निर्देशनसँगै आफूले व्यापारिक योजना तयार गरेर आवश्यक स्रोत जुटाउन लागि परेको बताउनुभयो ।

औषधी लिमिटेडको उत्पादन क्षमता विस्तारका हाललाई २० प्रकारका औषधि उत्पादन र बिक्री वितरण गर्न अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबिच समझदारी गर्न सुझावसमेत दिइएको थियो ।

त्यस्तै लिमिटेडको संस्थागत क्षमता अभिवृद्धि गरी दिगो रूपमा सञ्चालन सुनिश्चितताका लागि व्यावसायिक योजनासहित उद्योग मन्त्रालय र लिमिटेडबिच सम्झौता भनिएको छ । हालसम्म नेपाल सरकारबाट भएको ऋण लगानी र सोको ब्याजलाई पुँजीमा रूपान्तरण गर्ने र संस्थाबाट माग भएअनुसार क्षमता विस्तार गर्न आवश्यक रकम  रु २४ करोड ७८ लाख १२ हजारभन्दा बढी रकम अर्थ मन्त्रालयले निकासा गर्ने भनिएको छ।

Leave A Reply

Your email address will not be published.