कोशीमा सभामुख चयन गर्न आज निर्वाचन हुँदै

0

विराटनगर \ कोशी प्रदेश सभाले सभामुख निर्वाचन प्रक्रिया अगाडि बढाएको छ । केहीबेर अघि सम्पन्न कार्यव्यवस्था बैठकले आजै सभामुख निर्वाचन सम्पन्न गर्ने गरी कार्यसूची तय गरेको हो । सभामुख पदको निर्वाचन दिउँसो ३ बजे हुँदैछ ।

सभामुखको टुङ्गो लगाउन सत्तारुढ र प्रमुख प्रतिपक्षी दलको बैठक बिहानैदेखि बसिरहेको थियो । सत्ता गठबन्धन दलले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सभामुख पदमा सहयोग गर्ने निर्णय यसअघि नै गरिसकेको थियो भने नेकपा (एमाले) ले राष्ट्रिय सभा निर्वाचनको प्रक्रिया अगाडि बढेको भन्दै निर्वाचन आचारसंहिताले बाधा पुग्न सक्ने भन्दै सभामुख निर्वाचनलाई पछि लैजाने प्रयत्न गरेको थियो । यद्यपि आज भएको बैठकमा सत्ता र प्रतिपक्ष दुवै सभामुख निर्वाचनका लागि तयार भएका हुन् ।

राप्रपाले झापाका प्रदेश सभा सदस्य अम्बरबहादुर विष्टलाई सभामुख बनाउने निर्णय गरिसकेको छ । सभामुखमा विष्ट निर्विरोध निर्वाचित हुने सम्भावना बढी छ । प्रमुख प्रतिपक्ष दल एमालेले पनि सभामुखमा विष्टलाई सहयोग गर्ने विषयमा छलफल गरिरहेको छ ।

सभामुखबारे औपचारिक निर्णय गर्न कांग्रेस संसदीय दलको बैठक जारी छ । राप्रपा संसदीय दलको बैठकले सभामुख लिने निर्णय गरेको छ । ‘‘पार्टीले मलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ,’’ राप्रपाका प्रदेशसभा सदस्य अम्बरबहादुर विष्टले भन्नुभयो ।

प्रमुख विपक्षी नेपाल कम्युनिष्ट पार्टी (एमाले) दलको बैठक जारी छ । नेपाली कांग्रेस संसदीय दलको बैठकले सभामुख चयन प्रक्रियालगायत विषयमा छलफल गरिरहेको प्रदेश सभा सदस्य अमृत अर्यालले जानकारी दिनुभयो ।

गत साउनमा सभामुख पदबाट राजीनामा दिएर तत्कालीन सभामुख बाबुराम गौतम सरकार गठनमा सहभागी भएपछि कोशी प्रदेशमा सभामुख पद रिक्त रहँदै आएको छ ।

Leave A Reply

Your email address will not be published.