चेपाङ संरक्षित क्षेत्र घोषणाको तयारीमा छौँ : मुख्यमन्त्री जम्कट्टेल

0

हेटौँडा \  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चेपाङ संरक्षित क्षेत्रको तयारीमा रहेको बताउनुभएको छ । उहाँले चेपाङ संरक्षित क्षेत्रका लागि प्रदेश सरकारले अध्ययन टोली बनाएर काम थालिसकेको जानकारी दिनुभएको हो ।

राक्सिराङ गाउँपालिकाको चैनपुरमा सोमबार भएको गाउँ सभाको पन्ध्रौँ (हिउँदे) अधिवेशनलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । मकवानपुरको राक्सिराङ, चितवनको इच्छाकामना, कालिका, राप्ती र धादिङको बेनिघाट रोराङ र गजुरीमा चेपाङ संरक्षित क्षेत्र सुरु गर्न लागिएको मुख्यमन्त्रीले बताउनुभयो । चेपाङ समुदायको विकासको लागि बागमती प्रदेश सरकार लागि रहेको बताउँदै उहाँले चेपाङ, चिउरी, चमेरो संरक्षण कार्यक्रम अगाडि बढाएको जानकारी दिनुभयो ।

प्रदेश सरकारले गृहिणी महिला, युवा लक्षित र किसान लक्षित कार्यक्रमहरू सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले समयमै काम नगर्ने ठेकेदार कम्पनीको सम्झौता रद्द गरेको बताउँदै विकास निर्माणको विषयमा प्रदेश सरकार दृढपूर्वक अगाडि बढेको स्पष्ट पार्नुभयो । राक्सिराङको चैनपुर भएर मलेखु जाने बाटो महत्त्वपूर्ण रुट रहेकाले माघभित्रै यसलाई अगाडि बढाउने बताउनुभयो ।

गणतन्त्र विरोधी शक्ति सलबलाएको बताउँदै प्रदेश चाहिँदैन भनेर आवाज निकाल्न थालेकाले सबै राजनीतिक दलहरू सजग हुनुपर्ने उहाँको धारणा छ । निराश हुनुपर्ने जरुरी नरहेको जिकिर गर्दै जनताको बिचमा गएर राजनीतिक दलले आशा लाग्दा कुरा गर्नु उहाँले सुझाव पनि दिनुभयो । सधैँ थला परेको आयल निगम फाइदामा गएको बताउँदै उहाँले पछिल्लो समय विद्युत बेचेर पनि अरबौँ आएको बताउँदै आशावादी भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका सचेतक महेश बर्तौला, नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ लगायतले आफ्नो धारणा राख्नुभएको हो ।

Leave A Reply

Your email address will not be published.