काठमाडौं, पुस १७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले विश्वविद्यालय लगायतका शिक्षाका सम्पूर्ण संरचनामा प्रतिस्पर्धा गराउन चाहेको भन्दै त्यसका लागि तयार रहन प्राज्ञहरूलाई आग्रह गर्नुभएको छ ।
मङ्गलबार बिहान काठमाडौँमा आयोजित कान्तिपुर एजुकेसन समिट (शैक्षिक बहस) मा बोल्नुहुँदै प्रधानमन्त्रीले प्रतिस्पर्धामार्फत शिक्षाको गुणस्तर उकास्न आफूले पहल लिने बताउनुभएको हो ।
प्रधानमन्त्रीले भन्नुभयो, ‘‘मैले घोषणा गरिसकेको छु– अब विश्वविद्यालयहरूमा राजनीतिक भागबण्डा हुने छैन । मेरिटोक्रेसीका आधारमा उपकुलपति लगायतका पदाधिकारीहरू नियुक्त हुनेछन् । म मेरो सङ्कल्पमा दृढ छु । यसले योग्यहरूले जिम्मेवारी प्राप्त गर्ने अवसरको ढोका खुल्नेछ, विश्वविद्यालयका पदाधिकारीहरूले उच्च मनोबलका साथ आफ्नो विज्ञता प्रस्तुत गर्ने वातावरण मिल्नेछ, विद्यार्थी, अभिभावक लगायत आम जनसमुदायमा उच्च शिक्षा र पदाधिकारीहरूप्रति भरोसा बढ्नेछ ।’’