आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण विद्युतीकरण घोषणाको तयारी : प्रधानमन्त्री

0

सुनसरी \  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्ने गरी सम्पूर्ण तयारी भइसकेको बताउनुभएको छ । शुक्रबार सुनसरीस्थित इनरूवा सबस्टेशन उद्घाटन कार्यक्रममा उहाँले यसलाई सुनौलो दिनको संज्ञा दिँदै उक्त दिन छिट्टै आउने बताउनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘‘नेपाल सरकारको दिशानिर्देश, नेपाल विद्युत प्राधिकरणको योजना र नेपाली जनताको साथ र सहयोगले नेपालको उर्जा क्षेत्रले फड्को मारिरहेको छ । घर र बस्तीमा बत्ती बाल्न मात्र नभएर समृद्धि र देशलाई नै उज्यालो बनाउन विद्युत् उत्पादन, प्रसारण र वितरण गर्ने योजनाका साथ अहिले उत्साहजनक कामहरु भइरहेका छन् ।’’

प्रधानमन्त्रीले विगतमा आफ्नै नेतृत्वको सरकारले जनतालाई अँध्यारो लोडसेडिङको कहालीलाग्दो युगबाट मुक्त गरी उज्यालो नेपालको यात्रा अगाडि बढाएको बताउनुभयो । उहाँले देशभित्र उत्पादित विद्युत् यही खपत गर्नका लागि सरकारले केही दिन अघिमात्र विद्युत् खपत वृद्धिसम्बन्धी कार्ययोजना मन्त्रिपरिषदबाट पारित गरेको स्पष्ट पार्नुभयो । यसले विद्युत् खपत बढाउनका लागि ठूलो दिशानिर्देश गरेको उहाँको भनाइ थियो ।

प्रधानमन्त्रीले नदीबाट विद्युत् उत्पादन गर्ने र नेपालका सहर–सहर र गाउँगाउँमा पुर्‍याउने मात्र नभई उत्पादित बिजुली छिमेकमा बेच्ने र विदेशी मुद्रा आर्जन गर्ने अवसर सिर्जना भइसकेको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.