चिकित्सा शिक्षा ऐन संशोधनपछि युवाको विदेश पलायन रोकिन्छ : स्वास्थ्यमन्त्री

0

काठमाडौं \   स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन गरेपछि स्वदेशमै चिकित्सा शिक्षा पढ्न पाउने वातावरण बन्ने र युवाहरुको विदेश पलायन रोक्न सकिने बताउनुभएको छ ।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ स्थित बलेफी माध्यमिक विद्यालयको ७५ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्नुहुँदै स्वास्थ्यमन्त्री बस्नेतले सो कुरा बताउनुभएको हो । उहाँले चिकित्सा शिक्षा अध्ययनका लागि मात्र हरेक वर्ष ठूलो सङ्ख्यामा युवा विदेश पलायन भइरहेकाले उनीहरुलाई स्वदेशमै पढ्न पाउने वातावरण बनाउन विद्यमान चिकित्सा शिक्षा ऐन संशोधन आवश्यक रहेको औंल्याउनुभयो ।

नेपालका मेडिकल कलेज र स्वास्थ्य प्रतिष्ठानहरुमा अहिलेको क्षमताभन्दा बढी विद्यार्थीलाई एमबिबिएस र एमडी पढाउन सक्ने क्षमता भएको दाबी गर्नुहुँदै मन्त्री बस्नेतले स्वदेशमा पढ्न नदिएर युवालाई पढ्नकै लागि विदेश पठाउनु सही नभएको जिकिर गर्नुभयो ।

वर्तमान ऐनकै अव्यावहारिक व्यवस्थाका कारण डाक्टर पढ्न मात्र नभएर नर्स पढ्न पनि विदेश जानेको सङ्ख्या उल्लेख्य रहेको उहाँको भनाइ छ ।

मन्त्री बस्नेतले भन्नुभयो, ‘‘अब सरकारले चाँडै चिकित्सा शिक्षा ऐन संशोधन गरेर स्वदेशमै चिकित्सा शिक्षाका सिट बढाउनेछ । त्यसपछि चिकित्सा शिक्षा पढ्न विदेश जानेको सङ्ख्या घट्नेछ ।’’

विदेशी विद्यार्थीसमेत नेपाल आएर चिकित्सा शिक्षा पढ्न चाहिरहेको अवस्थामा आफ्ना विद्यार्थीलाई पढ्नकै लागि विदेश पठाउनु स्वाभाविक नभएको मन्त्री बस्नेतको तर्क छ ।

Leave A Reply

Your email address will not be published.