नेपाली समाजको एकता र समानता लागू हुने क्रममा छ : राष्ट्रपति पौडेल

0

काठमाडौ \  राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान शासन व्यवस्था विधिधतायुक्त नेपाली समाजको एकताका लागि महत्वपूर्ण रहेको बताउनुभएको छ ।

आइतबार काठमाडौँमा आयोजित त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहमा बोल्दै उहाँले जनताको ठूलो दुःख र त्याग पश्चात यो शासन व्यवस्था आएको र यसले नेपाली समाजको एकता र समानता लागू गर्ने क्रममा रहेको पनि बताउनुभयो ।

राष्ट्रपति पौडेलले त्रिभुवन विश्वविद्यालयबाट दीक्षित भएकाहरुसँग जनताको र राष्ट्रको भाग्य र भविष्य पनि जोडिएकाले सोही अनुसारको काम गर्नुपर्ने पनि बताउनु भयो । उहाँले राष्ट्र र जनताप्रति दायित्व नभुली अघि बढ्न पनि शिक्षित युवाहरुले राष्ट्र निर्माणको काममा लागिपर्ने विश्वास समेत व्यक्त गर्नुभयो । राष्ट्रपति पौडेलले सक्षम, सबल र समृद्ध राष्ट्र निर्माणका लागि शिक्षित युवाहरुको भुमिका महत्वपूर्ण हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘हाम्रो देशमा जनताको दुःख र त्यागपश्चात जनता सार्वभौम हुने लोकतान्त्रिक व्यवस्था स्थापना भएको छ । समावेशी विशेषतायुक्त यस व्यवस्था र अहिलेको संविधानले सामाजिक एकता र समानता नेपाली समाजमा लागू गर्ने क्रममा रहेको छ । भौगोलिक, साँस्कृतिक र जातीय विविधतायुक्त हाम्रो नेपाली समाजको एकताका लागि यो अत्यन्तै महत्वपूर्ण पक्ष हो भनेर हामीले बुझन जरुरी छ । वर्तमान युगमा शिक्षाबिनाको समाजको कल्पना पनि गर्न सकिँदैन । त्यसैले शिक्षा विकासका लागि पर्याप्त नभएपनि नेपाल सरकारले शिक्षा क्षेत्रमा ठूलो लगानी गर्दै आएको छ । त्यसको प्रतिफल तपाईहरुको परिश्रमसमेतका कारण आज तपाईहरु यो स्थानमा हुनुहुन्छ । तपाईहरुमा हाम्रो मुलुकको भाग्य र भविष्य जोडिएको छ ।’’

राष्ट्रपति पौडेलले भन्नुभयो, ‘‘राज्यको लगानी भन्नुको तात्पर्य जनताकै लगानी हो । तसर्थ, यहाँहरुको राष्ट्र र जनताप्रति केही दायित्व र केही कर्तव्य छ । त्यो दायित्व र कर्तव्य निर्वाह गर्ने कुरामा यहाँहरु चुक्नु हुनेछैन भन्नेमा म आशावादी छु ।

Leave A Reply

Your email address will not be published.