काठमाडौं \ सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रिन्टेड मिडियाको भविष्य अझै सुन्दर भएको तर त्यसको सही व्यवस्थापनको खाँचो रहेको बताउनुभएको छ ।
गोरखापत्र संस्थानको अङ्ग्रेजी प्रकाशन दि राइजिङ नेपाल दैनिकको ५८ औं वार्षिकोत्सव कार्यक्रममा आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । सरकारी सञ्चार माध्यमलाई सरकारी मान्छेले मात्र पढ्नेखालको नभइ सबै पक्षका लागि पठनीय बनाउन आवश्यक रहेको उहाँले सुझाव दिनुभयो ।
सरकारी सञ्चारमाध्यमप्रति पाठकको हेर्ने दृष्टिकोण अझै सरकारी नै भएको चर्चा गर्नुहुँदै उहाँले सरकारी सञ्चार माध्यमलाई प्रतिस्पर्धी र समयअनुसार सबल बनाउन अनिवार्य रहेको बताउनुभयो । धेरैभन्दा धेरै जनताको आवाज बुलन्द गर्ने, जनताको चेतना परिवर्तन गर्ने, राज्यबाट पछाडि पारिएका समुदाय र वर्गको आवाज बोल्ने काम सरकारी सञ्चार माध्यमले बोल्न सक्नुपर्छ मन्त्री शर्माले भन्नुभयो ।
उहाँले थप्नुभयो, “अहिलेसम्म भएको कामको समीक्षा गर्दै आगामी दिनमा गोरखापत्र र दि राइजिङ नेपालका सामग्रीलाई विशेष ध्यान दिएर अगाडि बढ्नुहोला । त्यसका लागि सरकार र मन्त्रालयबाट गर्नुपर्ने आवश्यक सहयोग गर्न सरकार तयार छ ।”