सरकारले प्रतिआश्रित नागरिकलाई १० हजार रुपियाँ दिने : प्रधानमन्त्री प्रचण्ड

0

हेटौँडा \  सडकमानव उद्दार गरी पालनपोषण गर्ने तथा पारिवारिक रुपमा पुनर्मिलन गराउने उद्देश्यले हेटौंडामा मुख्यालय रहेको मानवसेवा आश्रमको शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको छ ।

हेटौंडा ९ लामसुरेधापमा करिव १४ करोड रुपियाँको लागतमा निर्माण भएको आश्रमको भवन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्ड  ७ वटै प्रदेशका लागि सडकमानव उद्दार गर्न सवारीसाधन उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले आश्रममा आश्रित नागरिकलाई प्रतिब्यक्ति प्रतिमहिना १० हजार रुपियाँका दरले राज्यले नगद उपलब्ध गराउनको लागि ब्यबस्थापनको जिम्मेवारी लिने बताउनुभयो ।

मानवता प्रवद्र्धनको पुण्य अभियानका लागि काम गर्ने संस्थाको कार्यक्रम भएकोले पनि आफू उपस्थित भएको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले कठोर संघर्षपछि नागरिकको प्रत्यक्ष सहभागितामा निर्माण नेपालको संविधानले आमनेपाली जनतालाई सार्वभौम बनाएको बताउँदै शिक्षा, स्वास्थ्य रोजगारलाई मौलिक हकको रुपमा राखिएको बताउनुभयो ।

संविधानप्रदत्त अधिकार कार्यान्वयन हुने क्रममा नै रहेको अबस्थामा संविधानले दिएको काम मानवसेवा आश्रमले गरिहेको भन्दै सरकारले मानवसेवा आश्रमलाई अभिभावकत्व प्रदान गर्ने प्रतिबद्धता प्रधानमन्त्री प्रचण्डले ब्यक्त गर्नुभयो ।

मानवसेवा आश्रमको कामले राज्यलाई पनि झक्झकाउँदै तरंग प्रदान गरेको उहाँको भनाई छ । प्रधानमन्त्री प्रचण्डले मानवसेवा आश्रमबाट भएको कामलाई बिस्तार गर्न सातवटै प्रदेशमा भवन निर्माण, उद्दारको लागि सवारी साधन ब्यवस्थापन लगायतको कार्य सरकारले गर्ने प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सरकारले खाना, नाना र छाना जुटाउन नसक्ने नागरिकको संरक्षक सरकार नै हो भन्ने महशुस गराउन आश्रम ब्यवस्थापनको लागि प्रदेश सरकारले ४० लाख रुपियाँ बजेट बिनियोजन गरेको जानकारी दिनुभयो । मुख्यमन्त्री जम्कट्टेलले सरकारको ध्यान मानवसेवामा भएको प्रमाण नै प्रधानमज्त्री स्वयं यो कार्यक्रममा उपस्थित हुनुले जनाएको बताउनुभयो ।

बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले राज्यको पनि सहभागितामा आश्रममार्फत् सडकमानवमुक्त प्रदेश बनाउने अभियानमा प्रदेश सरकारको पूर्ण सहयोग रहने बताउनुभयो ।सरकारले आश्रमलाई ध्यान दिंदा बृद्धबृद्धा नागरिकको हेरचाह गर्न सहज हुने मन्त्री मोक्तानले बताउनुभयो । उहाँले आश्रममा जन्म लिएका बालबालिकाको नागरिकताको सवाल जटिल बनेकोले कानून निर्माण वा संशोधन गरी बाटो फुकाउनुपर्ने बताउँनुभयो ।

बागमती प्रदेशसभा सदस्य एबम् नेपाली काँग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले मानवसेवा आश्रमको माध्यमले हेटौंडाबाट मानवताबादी फैलने आशा ब्यक्त गर्नुभयो । राजनीति गर्ने नेतृत्वले पनि मानवतावादी राजनीति गर्न बानियाँको आग्रह थियो । अब सबै मिलेर सडकमावनमुक्त राज्य निर्माणमा लाग्नुपर्ने बानियाँले जनाउनुभयो ।

हेटौंडा उपमहानगरपालिका कार्यबाहक नगरप्रमुख राजेश बानियाँले हेटौंडाको पहिचानको रुपमा रहेको आश्रमले मानवताको प्रबद्र्धन गरेको बताउनुभयो । प्रमुख बानियाँले पालिकाले आश्रमको पबित्र अभियानलाई निरन्तर सहयोग गर्ने समेत प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

हेटौंडा बजारको २५ मिटर समस्या समाधानका लागि प्रधानमन्त्री प्रचण्डसमक्ष आग्रह गर्दै प्रदेशको राजधानी सहरको समस्या हल गर्न आग्रह गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.