कांग्रेस नेता विभाजित

0

काठमाडौं २० असोज । नयाँ सरकार गठनको विषयमा कांग्रेस नेताहरू विभाजित भएका छन् । पार्टी सभापति सुशील कोइराला नै अगाडि सर्नुपर्ने र भद्र सहमतिअनुसार एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउने भन्नेमा कांग्रेस नेताहरू विभाजित भएका हुन् । संस्थापन पक्षका नेताहरू पुन: कोइराला नै अघि बढ्नुपर्ने पक्षमा छन् । वरिष्ठ नेता शेरबहादुर देउवा पक्षका नेताहरू भने सहमतिमा अघि बढ्नुपर्ने पक्षमा छन् । तर, देउवा भने खुलेका छैनन् । उपसभापति रामचन्द्र पौडेल भने फेरि पनि कोइराला प्रधानमन्त्रीमा अघि बढ्न लागेकोमा असन्तुष्ट छन् । महामन्त्री कृष्ण सिटौलासहितका देउवा पक्षका नेताहरू भने भद्र सहमतिअनुसार ओलीलाई प्रधानमन्त्री बनाउनुपर्ने पक्षमा छन् । संस्थापन निकट नेताहरू डा. शेखर कोइराला, अर्जुननरसिंह केसी, मानबहादुर विश्वकर्मा, गगन थापालगायतका नेताहरू कोइरालाका पक्षमा लागेका छन् ।
उनीहरूले आइतबार केसीको घरमा भेला गरेर फेरि कोइराला नै प्रधानमन्त्री बन्नुपर्ने निष्कर्षसहित नेतृत्वलाई दबाब दिने निर्णय गरेका थिए । कोइराला पक्षधर नेताहरू सजिलै ओलीलाई प्रधानमन्त्री दिन नहुने पक्षमा छन् । ‘कांग्रेसलाई बदनाम नगरी कसैलाई चित्त नबुझ्ने देखिएको छ । कसैलाई प्रधानमन्त्री बनाउने जेन्टलमेन्ट एग्रिमेन्ट भएको भए हामी पछाडि हट्दैनौँ,’ कोइरालानिकट नेता आनन्दप्रसाद ढुंगानाले भने, ‘जेन्टलमेन्ट एग्रिमेन्ट प्रधामन्त्रीमा मात्र होइन, जनताले अधिकार पाउने निर्वाचन क्षेत्र पुनरावलोकन, समावेशिता र प्राधिकरण गठनमा पनि भएको छ, यी वाचालाई पूरा गर्न तयार नहुने, तर प्रधानमन्त्रीमा मात्रै सहमति कार्यान्वयन हुनुपर्ने भन्ने हुन सक्दैन ।’
प्रधानमन्त्रीले १० दिनदेखि यी विषय कार्यान्वयनका लागि आग्रह गरे पनि ओली तयार नभएको उनको भनाइ छ । कांग्रेसका संस्थापन र देउवा पक्षका असन्तुष्ट नेताहरूले सहमतिमा संविधान जारी गरेर फेरि आफैँ दाबी गर्नु नैतिक र राजनीतिक नभएको भन्दै आलोचना गरेका छन् । ‘यतिवेला प्रधानमन्त्रीमा सुशील कोइरालाले दाबी गर्नु राम्रो भएन,’ कांग्रेसका एक केन्द्रीय सदस्यले भने, ‘ओलीभन्दा पहिले इच्छा राख्नु नैतिक र राजनीतिक भएन, यसले पार्टीको छवि तल झार्छ ।’ कोइरालाले इच्छा राख्नुको पछाडि उनको निकटकाले उकास्नु रहेको ती नेताले बताए । ‘कसैले महाधिवेशनको स्वार्थ र कसैले मन्त्री बन्ने आकांक्षाले सुशीललाई उचालेका छन्,’ ती नेता भन्छन्, ‘स्वार्थ राख्नेको यस्तो नियत नबुझी उच्च पदमा बसिसकेको व्यक्ति बोल्नुले पार्टीको छविलाई राम्रो गर्दैन ।’

Leave A Reply

Your email address will not be published.