ध्रुबे हात्तीको दाह्रा काटियो, जोडियो स्याटलाइट कलर

0

चितवन \ चितवनका विभिन्न बस्तीमा पसेर आतंक मच्याउँदै आएको जंगली मत्ता (भाले हात्ती) ‘ध्रुबे’को शरीरमा स्याटलाइट कलर जडान गरिएको छ। उसको दाह्रा पनि काटिएको छ।

सोमबार दिउँसो सवा तीन बजेतिर चितवन राष्ट्रिय निकुञ्जको सुखिभार पोष्ट नजिकै ध्रुबेलाई डार्ट (बेहोस बनाउने ओषधि लोड गरिएको बन्दुकले हान्ने) गरिएको थियो। बेहोस भएपछि हात्तीको घाँटीमा स्याटलाइट कलर जोडिएको निकुञ्जका सूचना अधिकारी संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए। दाह्रा बढेको पाइएपछि काटेर छाडिएको उनले बताए।

‘मानवबस्तीमा पसेर आतंक मच्याउन थालेपछि ध्रुबेलाई तिहार अघिबाटै निगरानी बढाएका थियौं। निकै आक्रमक र चलाख रहेकाले पटक-पटक प्रयास गर्दा पनि ऊ भाग्न सफल हुँदै आएको थियो। डार्ट गर्न निरन्तर प्रयास गर्दा आज सफल भयौं,’ तिवारीले भने, ‘स्याटलाइट कलर जोडेर एन्टी डोज दिएको केहीबेर ऊ उठिहाल्यो।’

ध्रुबेले दसैंअघिबाट माडी र जगतपुर क्षेत्रमा बस्ती पसेर दु:ख दिइराखेको थियो। स्याटलाइट कलर जोडेपछि अब ध्रुबे कुन क्षेत्रमा छ भन्नेकुरा थाहा पाउन सकिन्छ। बस्तीतिर पस्न लागेको अवस्थामा तत्काल नियन्त्रण गर्न सकिन्छ।

ध्रुबेलाई स्याटलाइट कलर जोडिएको यो पहिलो पटक भने होइन। ७० साल तिर उसलाई पहिलो पटक स्याटलाइट कलर जोडिएको थियो। त्यतिखेर उसले निकुञ्ज आसपासका क्षेत्रमा आतंक मच्याएको थियो।

त्यो उसको शरीरबाट झरेपछि दोस्रो पटक कोरोना महामारीको समयमा स्याटलाइट कलर जोडिएको थियो। त्यो पनि झरेपछि नयाँ लगाइएको हो।

Leave A Reply

Your email address will not be published.