लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको विकल्प छैन : उपप्रधानमन्त्री खड्का

0

काठमाडौं \  कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले अर्थतन्त्रमा देखिएका केही समस्यालाई देखाएर कतिपय स्वार्थ समूहले अवाञ्छित राजनीतिक फाइदा लिन खोजेको प्रति सरकार गम्भीर रहेको बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २७औँ वार्षिकोत्सवको अवसरमा यहाँ आयोजित कार्यक्रममा उपप्रधानमन्त्री खड्काले सर्वसाधारण जनसमुदायलाई कुनैपनि अराजक र उत्तेजक भीडको पछि नलाग्न र सरकारमाथि भरोसा राख्न आग्रह गर्नुभयो ।

“हजारौँ नागरिकको बलिदान र लामो समयको राजनीतिक सङ्घर्षबाट प्राप्त सङ्घीय, लोकतान्त्रिक र गणतन्त्रात्मक शासन व्यवस्थाको अर्को विकल्प छैन, यसमा रहेका कमी कमजोरीलाई सुधार्दै यो व्यवस्थालाई थप सबल, सदृढ र जनउत्तरदायी बनाउँदै अघि बढ्नु आजको आवश्यकता हो”, खड्काले भन्नुभयो । सरकार अर्थतन्त्रमा देखा परेका समस्या समाधान गर्न पूर्ण प्रतिबद्धताका साथ लागिरहेको बताउनुहुँदै उहाँले चाँडै अर्थतन्त्र सही ट्रयाकमा आउनेमा विश्वास व्यक्त गर्नुभयो ।

खड्काले अर्थतन्त्र सुधारका लागि निजी क्षेत्र र सरोकारवाला सबैसँग रचनात्मक संवाद र सहकार्य गरेर अघि बढ्न सरकार तयार रहेको उल्लेख गर्नुभयो । “अर्थतन्त्रको समस्यालाई हामीले सामूहिक रूपमा समाधान गर्न सक्छौँ । एकअर्कालाई दोषारोपणभन्दा पनि हामी सबैले आ–आफ्नो ठाउँमा जिम्मेवार भएर दायित्व निर्वाह गर्न सक्यौँ भने अर्थतन्त्र सुधारका लागि महत्त्वपूर्ण सहयोग हुन सक्छ”, उहाँले भन्नुभयो ।

Leave A Reply

Your email address will not be published.