आज विश्व एड्स दिवस, एचआईभी सङ्क्रमितले नियमित एन्टिरेट्रो भाइरल औषधि खाए स्वस्थ्य जीवनयापन गर्न सक्ने

0

आज ३६ औँ विश्व एड्स दिवस । ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य गरौँ’ भन्ने नारासहित देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । एचआईभी र एड्ससम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाका लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जगाउन हरेक वर्ष डिसेम्बर १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले दिवसको अवसरमा विभिन्न चेतना र सन्देशमूलक कार्यक्रम आयोजना गर्दै आएको छ । केन्द्रका अनुसार नेपालमा सन् २०२२ को अन्त्यसम्म ३० हजार व्यक्तिमा एचआईभी सङ्क्रमण भएको अनुमान छ । नेपालमा हरेक दिन एक जना एचआईभीबाट सङ्क्रमित हुने गरेको तथ्याङ्क छ । सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने तथा असुरक्षित शारीरिक सम्पर्कका कारण एचआईभी एड्सको जोखिम हुने केन्द्रले जनाएको छ ।

असुरक्षित यौनसम्पर्कलाई एचआईभी एड्सको मुख्य कारण मानिन्छ । त्यस्तै सङ्क्रमितको रगत तथा सुईको साझा प्रयोग गर्नु पनि अर्को कारण मानिएको छ ।

दिगो विकास लक्ष्यअन्तर्गत नेपालले सन् २०३० सम्म एड्स महामारी अन्त्य गर्ने लक्ष्य राखेर एचआईभी रोकथाम, उपचार र हेरचाह कार्यक्रम सञ्चालन गर्दै आएको छ । नियमित एन्टिरेट्रो भाइरल औषधि खाए एचआईभी सङ्क्रमित व्यक्तिले स्वस्थ्य जीवनयापन गर्न सक्छन् । सरकारले एचआईभी सङ्क्रमितलाई तोकिएका स्वास्थ्य संस्थाबाट निःशुल्क एन्टिरेट्रो भाइरल उपचार सेवा दिँदै आएको छ ।

विगत दुई दशकमा नेपालले एचआईभी नियन्त्रणमा उल्लेखनीय उपलब्धि प्राप्त गरेको र सन् २०१० देखि सन् २०२२ सम्ममा नयाँ एचआईभी सङ्क्रमण दर झन्डै ७७ प्रतिशतले घटेको पाइएको छ । त्यस्तै एड्सबाट हुने मृत्युदर ८० प्रतिशतले घटेको छ ।

सन् १९८१ मा पहिलो एचआईभी सङ्क्रमित फेला परेदेखि सन् २०२२ को अन्त्यसम्ममा विश्वभर आठ करोड ५६ लाख जनामा सङ्क्रमण भएको छ । सङ्क्रमणका कारण चार करोड चार लाख जनाको ज्यान गएको तथ्याङ्क छ । विश्वमा हरेक दिन तीन हजार छ सय मानिस एचआईभी सङ्क्रमित हुने गरेका छन् ।

Leave A Reply

Your email address will not be published.