स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा लोहनी नियुक्त

0

काठमाडौं \ सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा डा. गुणराज लोहनीलाई नियुक्त गरेको छ । डा. लोहनीलाई बुधवार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा नियुक्त गरेको हो । त्यस्तै, नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्ष पदमा सुवोधकुमार शर्मालाई मनोनयन गर्ने निर्णय भएको सरकारकि प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

बैठकले माल्दिभ्सको मालेमा २०८० साल मंसिर २७-२८ मा आयोजना हुने मिनिस्ट्रियल मिटिङमा महान्यायाधिवक्ता डा. दिनमणि पोखरेललाई सहभागि हुन स्वीकृति दिएको छ । त्यसैगरी, राजश्व न्यायाधिकरण पोखराको कानून सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत पोखराका न्यायाधीश राजनबहादुर भट्टराई, विराटनगरको कानून सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत विराटनगरका न्यायाधीश विपुल न्यौपाने, काठमाडौंको कानून सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश रमेश ढकाललाई तोक्ने निर्णय भएको उहाँले बताउनुभयो ।

सरकारले वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्ष पदमा उच्च अदालत दिपायलका न्यायाधीश कृष्ण गिरीलाई तोकेको छ । त्यस्तै, विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत दिपायलका न्यायाधीश टेकनारायण कुँवरलाई र सदस्य पदमा उच्च अदालत जनकपुर राजविराज इजलाशका न्यायाधीश तेजनारायण सिंह राई, उच्च अदालत विराटनगर धनकुटा इजलाशका न्यायाधीश रामबहादुर थापा, उच्च अदालत पाटनका न्यायाधीश मुरारीबाबु श्रेष्ठलाई तोक्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

त्यसैगरी मंसिर २४–२५ मा कतारको दोहामा आयोजना हुने दोहा फोरम २०२३ मा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद नेतृत्वको प्रतिनिधि मण्डललाई सहभागि हुन स्वीकृत दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । मन्त्री शर्माले रोमानियाको बुखारेसस्थित नेपाली अवैतनिक वाणिज्य दुत नवराज पोखरेललाई अवैतनिक वाणिज्य दुत पदबाट हटाउने निर्णय भएको पनि बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.