शिक्षक विदेशिएपछि अध्यक्ष आफैँ पढाउँदै

0

माेरङ \  मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा रहेको लक्ष्मी माध्यमिक विद्यालयका स्थायी शिक्षक वैदेशिक रोजगारीमा गएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आफैँ विद्यार्थीलाई पढाउन थाल्नुभएको छ ।

विद्यालयका माध्यमिक तह विज्ञान दरबन्दीका शिक्षक भूपराज अधिकारीले स्वेच्छिक अवकाश लिएर क्यानडा प्रस्थान गरेपछि विद्यार्थीको पढाइमा बाधा नपुगोस् भनेर अर्को शिक्षकको व्यवस्था नभएसम्म आफैँले पढाउन थालेको अध्यक्ष गोविन्द भण्डारी बताउनुहुन्छ । अध्यक्ष भण्डारी यही विद्यालयका पूर्व विज्ञान शिक्षकका साथै प्रधानध्यापक समेत हुनुहुन्थ्यो ।

शिक्षक भूपराज अधिकारीसँगै उहाँकी श्रीमती भारती पनि बेलबारी–३ मा रहेको भगवती माविमा निम्न माध्यमिक तह विज्ञान दरबन्दीको शिक्षक हुनुहुन्थ्यो । उहाँले पनि शिक्षण पेसाबाट राजीनामा दिएर श्रीमानसँगै वैदेशिक रोजगारीमा जानुभएको छ ।

लामो समय यही विद्यालयमा अध्यापन गराउनुभएका भण्डारी सेवा निवृत भएपछि यही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुनुहुन्छ ।

शिक्षा विकास तथा समन्वय इकाइ मोरङका प्रमुख टङ्कप्रसाद गौतमले स्थानीय पालिका तथा विद्यालयबाट शिक्षक मागसम्बन्धी कुनै पनि पत्र नआएको, शिक्षक मागसम्बन्धी पत्र आएमा कार्यालय शिक्षक तुरुन्तै पठाउन तयार रहेको बताउनुभयो ।-रासस

Leave A Reply

Your email address will not be published.