नेपाली सेनाका रथी पाण्डे र ऊर्जा सचिव घिमिरेको राजीनामा स्वीकृत

0

सरकारले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डे र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेको राजीनामा स्वीकृत गरेको छ ।

सिंहदरबारमा रहेकाे प्रधानमन्त्री कार्यालयमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले उपरथी पाण्डेको राजीनामा गएकाे कात्तिक २४ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । उपरथी पाण्डेले व्यक्तिगत कारण दर्शाएर आफ्नो पदबाट राजीनामा दिनुभएको थियो ।

यस्तै, ऊर्जा सचिव घिमिरेले पनि व्यक्तिगत कारण देखाउँदै पदावधि सकिनु एक महिना अगावै राजीनामा दिनुभएको हो । बैठकले विद्युतीय सुशासन आयोगको सदस्य पदमा कञ्चनपुरका पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

बैठकले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीट्जरल्यान्ड सरकारले प्रदान गर्ने स्वीस फ्रयाङ्क चार दशमलव ४६५ मिलियन (करिब ६५ करोड) अनुदान स्वीकृत गर्ने निर्णय गरेको छ ।

यसैगरी बैठकले सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको माग बमोजिम प्राविधिकसहितका चार जनशक्ति थप गर्ने निर्णय गरेको जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.