बालुवाटारमा सर्वदलीय बैठक

0

काठमाडौं, १८ असोज । सहमतीय सरकार गठनका विषयमा छलफल गर्न भोलि सोमबार व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गरेका सबै दलको सहभागितामा सर्वदलीय बैठक बसेको छ । राष्ट्रपति डा रामबरण यादवले सहमतीय सरकार गठनका लागि दललाई आह्वान गरेबमोजिम सोही विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बसेको प्रधानमन्त्री सुशील कोइरालाका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभयो ।
सर्वदलीय बैठक बस्नुअघि प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी) को बैठक बसेको थियो ।
राष्ट्रपति डा रामवरण यादवले नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गर्न व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गरेका राजनीतिक दललाई गत शुक्रबार आह्वान गर्नुभएको थियो । राष्ट्रपतिको आह्वानसँगै राष्ट्रिय सहमतिको सरकार गठनका लागि दलले विभिन्न तहमा छलफल चलाइरहेका छन् । ती दलले आन्तरिक र बहुपक्षीय छलफललाई तीव्रता दिएका छन् ।

Leave A Reply

Your email address will not be published.