सरकार र मोर्चाबीचको वार्तामा प्रगति

0

काठमाडौं, १४ असोज । सरकारी वार्ता टोली र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको वार्ता सकारात्मक दिशातर्फ जाँदैछ । तराई–मधेस लोकतान्त्रिक पार्टी केन्द्रीय कार्यालयमा आज भएको वार्ता सकारात्मक भएको र परिणाममुखी हुने बाटातर्फ अघि बढेको सरकारी वार्ता टोलीका सदस्य एवम् वन तथा भूसंरक्षणमन्त्री महेश आचार्यले बताउनुभयो ।
वार्तामा तराईमा आन्दोलनका क्रममा भएका घाइतेको उपचार, गिरफ्तार भएकाको रिहाइ, मृतकका परिवारलाई राहत दिने कार्य अघि बढाइने, दङ्गा क्षेत्र हटाई सुरक्षाकर्मी सामान्य जिम्मेवारीमा फर्कनुपर्ने लगायत विषयमा सकारात्मक छलफल भएको नेपाली काँग्रेसका नेता आचार्यले जानकारी दिनुभयो ।
छलफल हुन बाँकी विषयमा शुक्रबार फेरि वार्तामा बस्ने बताउँदै मन्त्री आचार्यले भन्नुभयो,“हामीले मुलुकमा अत्यावश्यक वस्तुको आपूर्तिमा देखिएको असहज परिस्थितिको बारेमा उहाँहरुको ध्यानाकर्षण गरायौँ ।”
सौहार्द वातावरणमा वार्ता सकारात्मक भएको सरकारी वार्ता टोलीका अर्का सदस्य एवम् नेकपा (एमाले)का प्रमुख सचेतक अग्नि खरेलले बताउनुभयो । वार्ताले सकारात्मक परिणाम ल्याउने अपेक्षा गर्दै प्रमुख सचेतक खरेलले मोर्चाका तर्फबाट सरकारले वार्ताको उपयुक्त वातावरण बनाउन केही काम गरोस् भन्ने धारणामा आफूहरु सकारात्मक रहेको जानकारी दिनुभयो । वार्तामा राजनीतिक विषयमा समेत छलफल भएको बताउँदै उहाँले भन्नुभयो, “हामीले उहाँहरुलाई सके आन्दोलन फिर्ता लिनुस्, नभए सीमामा देखिएको नाकाबन्दीको समस्यालाई हल गर्नेतर्फ विचार गर्न आग्रह ग-यौँ ।”

सरकार–मोर्चा वार्ता शुक्रबार
वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै तमलोपाका महामन्त्री सर्वेन्द्रनाथ शुक्लले मोर्चाले पहिलेदेखि नै वार्ताको उचित वातावरण बनाउनका लागि आग्रह गरेको र सरकारले अझै केही काम गर्न बाँकी रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो राजनीतिक मुद्दाको बारेमा सरकारले आज स्पष्ट दृष्टिकोण दिइ नसकेकाले भोलि(शुक्रबार) फेरि वार्तामा बस्छौँ ।”
महामन्त्री शुक्लले सञ्चारमाध्यममा सरकार वार्ताका लागि लचिलो भएको सुने पनि वार्तामा अझै त्यस्तो नपाइएको गुनासो गर्दै अन्तरिम संविधान, २०६३ अनुसार नागरिकता, समानुपातिक समावेशी, जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारणलगायत माग मोर्चाको रहेको अवगत गराउनुभयो ।
वार्तामा मन्त्री आचार्य, प्रमुख सचेतक खरेल, महामन्त्री शुक्ललगायत तमलोपाका अध्यक्ष महन्थ ठाकुर र एकीकृत नेकपा (माओवादी) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठको सहभागिता थियो ।

Leave A Reply

Your email address will not be published.