संसद् अधिवेशन भोलिदेखि

0

काठमाडौं, १४ असोज । नयाँ संविधान जारी भएपछि शुक्रबार व्यवस्थापिका–संसद्को पहिलो अधिवेशन बस्दैछ । व्यवस्थापिका–संसद् सचिवालयका अनुसार व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ बजेका लागि बैठक बोलाइएको छ । सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलका अनुसार शुक्रबारको बैठकमा राष्ट्रपतिले अधिवेशन आह्वान सम्बन्धमा पठाएको पत्र वाचन गर्नेे बाहेक अन्य कार्यसूची हालसम्म तय भएको छैन ।
नेपालको संविधानअनुसार व्यवस्थापिका–संसद्को अधिवेशन सुरु भएको एक साताभित्र नयाँ प्रधानमन्त्रीको चयन गर्नुपर्ने व्यवस्था छ । संविधानको धारा २९८ अनुसार सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरिने छ । त्यसो हुन नसकेमा संसद्मा कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतका आधारमा प्रधानमन्त्री निर्वाचत हुने प्रावधान छ ।
यस्तै अधिवेशन चालु रहेको अवस्थामा एक महिनाभित्र राष्ट्रपति तथा उपराष्ट्रपतिको नयाँ निर्वाचन हुने व्यवस्था भए पनि राष्ट्रपति र उपराष्ट्रपतिले कोसमक्ष राजीनामा दिने भन्ने कुनै पनि प्रस्ट प्रावधान नभएका कारण समस्या परेको छ ।
अधिवेशन सुरु भएको २० दिनभित्र सभामुख र उपसभामुखको चयन गर्ने संवैधानिक प्रावधान छ । राष्ट्रपति तथा उपराष्ट्रपति एवम् सभामुखको चयनका लागि नयाँ नियमावली बनाउनुपर्ने अवस्था रहेकाले त्यसको आवश्यक तयारी गरिएको संसद् सचिवालयले जनाएको छ ।
संविधानमा राजीनासम्बन्धी प्रावधान नभएका कारण नयाँ नियमावली बनाएर अप्ठ्यारो हटाउने तयारी गरिएकाले केही दिनभित्रै मुलुकले नयाँ प्रधानमन्त्री पाउने छ । यस्तै संविधान जारी प्रक्रियामा असन्तुष्टि व्यक्त गर्दै तराई–मधेसमा आन्दोलन गर्दै आएका राजनीतिक दलको मागअनुसार संविधान संशोधनको प्रक्रियासमेत अगाडि बढाइने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.