क्रिकेट टोलीलाई राष्ट्रपति पौडेलको शुभकामना

0

काठमाडौं \  राष्ट्रपति रामचन्द्र पौडेलले एसिया कप क्रिकेट प्रतियोगितामा भाग लिन पाकिस्तान जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई राष्ट्रपति भवन शीतल निवासमा शुभकामना दिनुभएको छ ।

‘‘भदौ १३ गतेदेखि पाकिस्तानमा सुरु हुने एसिया कप क्रिकेट प्रतियोगिता खेल्न जान लाग्नुभएकोमा म नेपाली राष्ट्रिय क्रिकेट टोलीसहित यसमा संलग्न खेलाडी, प्रशिक्षकलगायतलाई सफलताको शुभकामना दिन चाहन्छु,’’ राष्ट्रपति पौडेलले भन्नुभयो ।

यसप्रकारका अन्तर्राष्ट्रिय प्रतियोगितामा हुने नेपालको सहभागिताले खेलाडीलाई आफ्नो व्यक्तित्व निर्माण गर्ने अवसरसहित नेपाल र नेपालीलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन र राष्ट्रको प्रतिष्ठा एवम् गरिमा बढाउन योगदान दिने पनि राष्ट्रपति पौडेलले बताउनुभयो ।

नेपालमा बढ्दो क्रिकेटप्रतिको आकर्षण र यस खेलमा पछिल्लो समय हासिल गरेको प्रगतिले हामी सबैलाई उत्साहित बनाएको भन्दै राष्ट्रपति पौडेलले यसलाई अझ परिणाममुखी बनाउन सरकारले खेलजगतका लागि स्वदेशमा उपयुक्त अवसर र पूर्वाधार निर्माण गरी प्रशिक्षण तथा प्रतियोगितालाई तीव्रता दिनुपर्ने धारणा राख्नुभयो।

‘‘विश्व क्रिकेटमा भारत र पाकिस्तानजस्ता ठुला क्रिकेट टिमसँग खेल्ने अवसर नेपाली टीमका लागि थप उत्साहको विषय हो । उत्कृष्ट खेल प्रदर्शन र परिणाम निकाल्न तपाईँहरूको अहोरात्रको मेहनत र परिश्रम सफल होस्, राष्ट्रपति पौडेलले भन्नुभयो, ‘‘पुनः म तपाईँहरूलाई सफलताको हार्दिक शुभकामना दिन चाहन्छु ।’’

Leave A Reply

Your email address will not be published.