यसरी मनाउँदै कर्णालीले स्थापना दिवस, प्रधानमन्त्री प्रचण्ड सहभागी हुने

0

सुर्खेत \ आज कर्णाली प्रदेश स्थापना दिवस । २३, साउन ०७२ मा तत्कालीन सरकारले गरेको सीमाङ्कनको निर्णयमा कर्णालीलाई सुदूरपश्चिममा गाभेको विरुद्ध १३ दिनसम्म आन्दोलन भएको थियो । एकातिर साविक कर्णालीको मात्र अलग प्रदेश र अर्कातिर मध्यपश्चिम क्षेत्रलाई अखण्ड मध्यपश्चिम कायम गरेर प्रदेश घोषणा गर्नुपर्ने आवाजहरु उठेका थिए ।

यद्यपि २३ साउन ०७२ को मध्यराति प्रमुख राजनीतिक दलका शीर्ष नेता सम्मिलित संविधान सभाको विशेष समितिले ६ प्रदेशको सिमाङ्कनसहित संघीयताको खाका सार्वजनिक ग¥यो । त्यसपछि उक्त निर्णय विरुद्ध कर्णालीले बिद्रोह गर्नुपर्‍यो ।

२४ साउनदेखिनै अखण्ड मध्यपश्चिमका ब्यानरमा सुर्खेतबाट आन्दोलन सुरु भई १० वटै जिल्लामा फैलिएको थियो । आन्दोलनमा सुर्खेतका गोपालसिं रजवार, टीकाराम गौतम, यामबहादुर बिसी र जुम्लामा हरिबहादुर कुँवरले साहदत प्राप्त गरेका थिए ।

karnali sahid

आन्दोलन उत्कर्षमा पुगेपछि तत्कालीन सरकारले ४ भदौ, ०७२ मा कर्णाली अञ्चलका पाँच, भेरीका तीन र राप्ती दुई जिल्लासहित १० वटा जिल्ला जोडेर ६ नम्बर प्रदेश घोषणा गरेको थियो ।  छुट्टै प्रदेश स्थापनाका लागि कर्णालीले निकै संघर्ष गर्नुपरेको थियो ।

अरुले स्वतः पाएको अधिकार कर्णालीले रगत बगाएर, बिद्रोह गरेर प्राप्त गरेको हो । अन्दोलनमा राजनीतिक दल भन्दा जनताको योगाद ठूलो रहेको आम विश्लेषण हुने गरेको छ । पञ्चायतकालदेखिनै पछाडि पारिएको कर्णालीलाई संघीयता आवाश्यक थियो । तर, उसैलाई बे–वास्ता गरेर सिमाङ्कन गरिएपछि सुर्खेतमा व्यवसायी, पेशाकर्मी, विद्यार्थी मिलेर आन्दोलनको नेतृत्व गरेका थिए ।

त्यो बेला जनताहरु आन्दोलनमा उत्रिएपछि मात्रै राजनीतिक दलहरु सडकमा आउन बाध्य भएका थिए । पछि १२ फागुन, ०७४ मा बसेको कर्णाली प्रदेश सभा बैठकले ‘कर्णाली प्रदेश’ नामाकरण गरेको थियो ।

प्रदेश सरकार बनेपछि पहिलो कार्यकाल सम्पन्न भइसकेको छ । सुरुमा नेकपा माओवादी केन्द्रबाट महेन्द्रबहादुर शाही पहिलो मुख्यमन्त्री बने । यद्यपि कर्णालीमा राजनीतिक अन्तरविरोध कायम रह्यो । जसले गर्दा कर्णाली समृद्धिको अभियानले अझै सार्थकता पाउन सकिरहेको छैन । ‘समृद्ध कर्णाली, सुखारी कर्णालीबासी’ नारा बोकेको प्रदेशमा राजनीतिक खिचातानीका कारण उक्त नारा केवल नारामा मात्रै सीमित बनेको छ ।

शाहीपछि मुख्यमन्त्रीमा कांग्रेसबाट जीवनबहादुर शाही बने भने यतिबेला पुनः सरकारको नेतृत्वमा माओवादी नै छ । यद्यपि संघीयताको कर्णालीले जति लाभ लिन सक्नुपथ्र्यो त्यो लिन नसकेको विश्लेषणहरु हुने गरेका छन् । यो बीचमा राजनीतिक दलहरु कर्णालीलाई विकासपथका अगाडि बढाउने भन्दा बढी सत्ताको खिचातानीमा बढी व्यस्त बने ।

एकातिर आफ्नो आन्तरिक स्रोत नहुनु, अर्कातिर राजनीतिक दलहरु सत्ताको लुछाचुढीमा व्यस्त हुनु र अनुदानमै पाएको बजेट कार्यान्वयन गर्न नसक्नुले प्रदेश संरचनामाथिनै प्रश्नहरु उठ्न थालेका छन् ।

यसरी मनाउँदै छ कर्णालीले स्थापना दिवस् 

कर्णाली प्रदेश सरकारले आज प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा सार्वजनिक बिदा दिएको छ । आज प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइएको हो ।

२९ चैत्र, २०७९ मा बसेको मन्त्रिपरिषद्को बैठकले भदौ ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । स्थापना दिवसको अवसरमा वीरेन्द्रनगरको खुल्ला मञ्चमा कार्यक्रम राखिएको छ । उक्त कार्यक्रमका सहिद परिवारका सदस्यलाइ सम्मान गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं कानुन मनत्री कृष्णबहादुर जिसीले बताए ।

१० बजेदेखि सुरु हुने उक्त कार्यक्रमका प्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ पनि सहभागी हुने छन् । साथै गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि कार्यक्रममा सहभागी हुनेछन् ।-रातोपाटीबाट

Leave A Reply

Your email address will not be published.