थारुवान नेतासहित ५८ जनाविरुद्ध ज्यान मुद्दा

0

काठमाडौं, ६ असोज । थारुहट/थारुवान संयुक्त संघर्ष समितिका केन्द्रिय संयोजक तथा थारु कल्याणकारी सभाका अध्यक्ष धनीराम चौधरी सहित ५८ जना बिरुद्ध जिल्ला अदालत कैलालीमा कर्तव्य ज्यान मुद्धा दर्ता भएको छ । फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य लक्ष्मण थारु र थारु कल्याणकारी सभा कैलालीका अध्यक्ष लाहुराम चौधरी बिरुद्ध पनि कर्तव्य ज्यान मुद्धा दर्ता भएको छ ।

जिल्ला अदालतका श्रेस्तेदार जगदीप्रसाद भट्टले प्रतिवादीविरुद्ध कर्तव्य ज्यान, डकैती, चोरी र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको जानकारी दिनुभयो । तीमध्ये ३६ प्रतिवादी फरार छन् भने २२ जनालाई अदालतमै उपस्थित गराई मुद्दा दर्ता गरिएको छ । फरार रहेका प्रतिवादीका हकमा उनीहरुविरुद्ध वारेन्ट सहित म्यादी पुर्जी जारी गर्न अदालत समक्ष माग गरिएको छ । थरुहटका नेता तथा इन्जिनियर धनीराम चौधरी लगायत फरार छन् ।
अनुसन्धानका सिलसिलामा पक्राउ परेका १४वर्षीय बालक करन चौधरीका हकमा भने म्याद थप गर्दा संरक्षक वा सामाजिक संस्थाको जिम्मा लगाई अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । गत भदौ ७ गते कैलालीको टीकापुरमा थरुहटको प्रदर्शनका क्रममा भएको हिंसात्मक झडपमा परी सेती अञ्चल प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने सहित आठ प्रहरी र एक बालकको मृत्यु भएको थियो ।

Leave A Reply

Your email address will not be published.