राष्ट्रिय सभाको उपनिर्वाचन माघ २५ मा गर्ने सरकारको निर्णय

0

काठमाडौं : राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा हुने भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले २५ माघमा राष्ट्रियसभा उपनिर्वाचन गर्ने निर्णय गरेको हो । 

लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि राजीनामा दिएका थिए । त्यसपछि रिक्त रहेको ठाउँमा निर्वाचन हुन लागेको हो । 

यसअघि प्रधानमन्त्री दाहालले राष्ट्रिय सभा निर्वाचनका विषयमा आयोगका पदाधिकारीसँग परामर्श गरेका थिए । 

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६१ मा कुनै सदस्यको पदावधि ५ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले पद रिक्त भएमा बाँकी अवधिका लागि रिक्त भएको मितिले ३५ दिनभित्र सरकारले तोकेको मितिमा आयोगले उपनिर्वाचन गराउनुपर्ने व्यवस्था छ ।

त्यस्तै मन्त्रिपरिषद्को बैठकले अर्थ सचिवमा तोयम रायालाई सरुवा गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिव रहेका रायालाई अर्थ मन्त्रालयको सचिवमा ल्याइएको हो । 

त्यस्तै, अर्थ मन्त्रालय अन्तर्गतको राजस्व सचिवमा भने रामप्रसाद घिमिरेलाई ल्याइएको छ । 

अर्थतन्त्र सुधारका लागि सरकारले अर्थ र राजश्व सचिवमा सरुवा गरेको हो ।

यसअघि अर्थसचिव कृष्णहरि पुष्कर थिए भने राजस्व सचिवको जिम्मेवारीमा रामेश्वर दंगाल थिए ।

Leave A Reply

Your email address will not be published.