सातै प्रदेशमा कांग्रेसबाहेकको सरकार बन्ने

0

काठमाडौं : गठबन्धन टुटेपछि सातै प्रदेशमा बन्ने सरकारको समीकरण पनि फेरबदल भएको छ । अब प्रदेशमा बन्ने सरकारहरुमा कांग्रेसको नेतृत्व लगभग असम्भव जस्तो देखिएको छ । 

संघमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको गठबन्धन बनेसँगै प्रदेशमा बन्ने सरकारको समीकरणमा फेरबदल आएको हो । 

९३ सदस्य रहेको प्रदेश १ मा सरकार गठनका लागि ४७ सांसद आवश्यक पर्नेछ । यो प्रदेशमा एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ सांसद सहित करिब दुई तिहाइ नजिकको सरकार बन्ने भएको छ । 

१०७ सांसद रहेको मधेस प्रदेशमा सरकार बन्न ५४ सांसद संख्या आवश्यक रहन्छ । यो प्रदेशमा एमालेका २३, माओवादी केन्द्रका ८, राप्रपाका १, जसपाका १६, जनमत पार्टीका १३, नागरिक उन्मुक्तिका १ सांसद सहित ६२ सांसद रहेको बहुमतको सरकार बन्ने भएको छ । 

११० सांसद रहेको बागमती प्रदेशमा सरकार गठनका लागि ५६ सांसद संख्या आवश्यक रहेको छ । यो प्रदेशमा कांग्रेससँग ३७, माओवादी केन्द्रसँग २१ र एकीकृत समाजवादीसँग ७ गरी ६५ जना सांसद छन् । यहाँ एमालेसँग २७, राप्रपासँग १३, नेमकिपासँग ३ र हाम्रो पार्टीसँग २ सांसद छन् ।

६० सांसद रहेको गण्डकीमा सरकार बन्नका लागि ३१ सांसद आवश्यक पर्छ। एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ सहित स्पष्ट बहुमतको सरकार बन्ने भएको छ । 

८७ सांसद रहेको लुम्बिनी प्रदेशमा सरकार गठनका लागि ४४ सांसद संख्या आवश्यक पर्छ । २९ सांसदसहित एमाले पहिलो दल, माओवादी केन्द्रका ८ सांसद, राप्रपाका ४ सांसद, जसपाका ३ सांसद, जनमत पार्टीका ३ सांसद, नागरिक उन्मुक्तिबाट ४ सांसद सहितको गठबन्धन सरकार बन्ने भएको छ । 

त्यस्तै ४० सांसद रहेको कर्णाली प्रदेशमा सरकार गठनका लागि २१ सांसद संख्या आवश्यक पर्छ । एमालेका १० सांसद, माओवादी केन्द्रका १३ सांसद, राप्रपाका १ सांसदसहित स्पष्ट बहुमतको सरकार बन्ने देखिन्छ । 

५३ सांसद रहेको सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि २७ सांसद आयश्यक पर्छ । यो प्रदेशमा एमालेका १० सांसद, माओवादी केन्द्रका ११ सांसद, राप्रपाका १ सांसद, नागरिक उन्मुक्ति पार्टीका ७ सांसद सहितको स्पष्ट बहुमतको सरकार बन्ने भएको छ ।

Leave A Reply

Your email address will not be published.