देश दौडाहमा शीर्ष नेताहरु

0

काठमाडौं : प्रदेश र प्रतिनिधिसभा सदस्यहरु चुनावी प्रचार प्रसारमा छन् । आफ्ना उम्मेदवारलाई भोट माग्न राजनीतिक दलका शीर्ष नेताहरु देश दौडाहामा निस्किएका छन् ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विभिन्न चुनाव क्षेत्रमा प्रचार प्रसारका लागि पुगेका हुन् । उनीहरुले निर्वाचन आयोगबाट प्रमुख प्रचारकको हैसियतमा चुनावी प्रचारका लागि हेलिकप्टर प्रयोग गर्न पाउने अनुमति पनि लिएका छन् । बिभिन्न क्षेत्रमा पुगेका शीर्ष नेताहरु भाषणमा भने एजेण्डा भन्दा बढ्दा अरोप प्रत्यारोप र आश्वासन बाँडिरहेका छन् । 

१७ कात्तिकमा चुनाव प्रचार सुरु भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गोरखा पुगेर आफ्नो चुनाव क्षेत्रको आमसभामा सहभागी भएका थिए । दुई दिन गोरखामै बसेर उनले करिब दर्जन साना, ठूला चुनावी सभालाई सम्बोधन गरेका थिए । मंगलबार भने प्रचण्ड कर्णाली पुगेका हुन् । पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र बाहिर पुगेका प्रचण्डले मंगलबार कर्णालीका विभिन्न पाँच चुनावी सभालाई सम्बोधन गरे ।

उनले जुम्लाको शेराखेत र सिंजामा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्ने छन् । त्यस्तै हुम्लाको सर्केगाड, कालीकोटको मान्मा र रास्कोटमा आयोजना हुने चुनावी सभालाई पनि प्रचण्डले सम्बोधन गरे ।

मंगलबार कालीकोटको सदरमुकाम मान्मामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले ४ मंसिरको प्रतिनिधिसभा चुनावमा महेन्द्रबहादुर शाहीलाई निर्वाचित भए उनलाई मन्त्री बनाउने आश्वासन दिए । सत्ता गठबन्धन विगतकै शान्ति सम्झौताको निरन्तरता रहेको भन्दै बिना हिचकिचाहट गठबन्धनका उम्मेदवारलाई भोट दिन आग्रह गरे ।

आफ्नो निर्वाचन क्षेत्र डडेलधुरामा दुई दिन बिताएका शेरबहादुर देउवा त्यसपछि कैलालीको धनगढी झरेर त्यहाँको आमसभालाई सम्बोधन गरे । देउवाले आफ्नो निर्वाचन क्षेत्रका परशुराम र अजयमेरुमा आयोजित सभालाई सम्बोधन गरिसकेका छन् । 

मंगलबार देउवाले कैलाली–५ मा चुनाव प्रचारमा सक्रिय भए । देउवाको सचिवालयका अनुसार उनी आज त्यस क्षेत्रमा पार्टीका आन्तरिक भेटघाटमा व्यस्त छन् । उक्त क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका छविराज पन्त उम्मेवार रहेका छन् । देउवा बुधबार त्यहाँबाट दार्चुला र बैतडीका आमसभामा सहभागी हुन जाने कार्यक्रम छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १८ कात्तिकमा चुनावी सभा दार्चुलाबाट सुरु गरेका थिए । त्यसै दिन बैतडी र कञ्चनपुरको आमसभालाई पनि सम्बोधन गरेका ओलीले बाग्लुङ र पोखराको सभालाई समेत सम्बोधन गरिसकेका छन् ।
मंगलबार आफ्नो निवास बालकोटमै आन्तरिक भेटघाटमा ब्यस्त रहेका ओली साँझपख झापा हिडेका छन् । ओलीले चुनावभर करिब ४० जिल्लाका सभालाई सम्बोधन गर्ने तय भएको छ ।

Leave A Reply

Your email address will not be published.