काठमाडौं : बागी उम्मेदवार सहित कांग्रेसका ७४ जना कारबाहीमा परेका छन् ।
कांग्रेसले पार्टी र पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने ७४ नेतालाई कारबाही गरेको हो । मंगलबार पार्टीको अनुशासन आयोगले विज्ञप्ति निकालेर पार्टी र पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने ७४ जना नेता तथा कार्यकर्तालाई पाँच वर्षका लागि साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको जनाएको छ ।
‘आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारविरुद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएमा नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम ५ (पाँच) वर्षका लागि देहायका व्यक्तिलाई सदस्यता समेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देश गरिन्छ’ आयोगका संयोजक आनन्दप्रसाद ढुंगानाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
कांग्रेसले बागी उम्मेदवार, प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएकाहरूको नामावलीहरू समेत अभिलेखबाट हटाइएको जनाएको छ । कांग्रेसले बागी उम्मेदवार तीनका प्रस्तावक एवं समर्थकको नाम केन्द्रीय अनुशासन समितिमा पठाउन पनि निर्देशन दिएको छ ।
नेकपा माओवादी केन्द्रले पनि मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनमा बागी उम्मेदवारी दिने पार्टीका नेता कार्यकर्तालाई कारबाही गरेको छ ।
पार्टी कार्यालय सचिव श्रीराम ढकालका अनुसार निर्वाचनमा बागी उम्मेदवारी दिने पार्टीका नेता कार्यकर्ताहरु कारबाहीमा परेका छन् । पार्टी नीतिविपरीत गठबन्धन दलका आधिकारिक उम्मेदवारको विरुद्धमा बागी उम्मेदवारी दिइ उम्मेदवारी फिर्ता नलिएका उम्मेदवार, तिनका प्रस्तावक र समर्थकलाई सम्पूर्ण जिम्मेवारीसहित पार्टीबाट निस्कासन गरिएको छ
माओवादीले समय ने तोकेर आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता बागी उम्मेदवारले पार्टीका एवम् गठबन्धन दलभित्रका आधिकारिक उम्मेदवारलाई विजयी गराउन पूर्ण रुपमा सक्रिय रहने प्रतिबद्धतासहित असोज ३१ गतेभित्र सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरेमा वा आफ्नो उम्मेदवारी निस्क्रिय गराएमा उनीहरु उपरको कारबाही फिर्ता लिइने जनाएको थियो । नीति अनुसार निर्णय नगर्नेहरुमाथि कारबाही गरिएको हो ।
सत्तारूढ गठबन्धनको निर्णय विपरीत मनोनयनपत्र दर्ता गराएका एकीकृत समाजवादी पार्टीले १९ जना उम्मेद्वारले आफ्नो उम्मेद्वारी फिर्ता लिएको जनाएको छ । पार्टी नेतृत्वले दिएको निर्देशन मान्दै उनीहरूले उम्मेद्वारी फिर्ता लिएपछि कारबाहीबाट बचेका छन् ।
क्षेत्र नम्बर १ ‘ख’ मा स्वतन्त्र उम्मेद्वारी दिएका तीन जनाले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन् । आरुघाट गाउँपालिकाका पूर्वअध्यक्षसमेत रहेका पूर्ण दाहालले उम्मेद्वारी फिर्ता लिएका हुन् । उनी नेपाली कांग्रेसनिकट नेता हुन् । सोही क्षेत्रमा नेकपा माओवादी केन्द्रनिकट राजकुमार ढकाल र नेकपा एकीकृत समाजवादीका टेकराज भट्टले पनि उम्मेद्वारी फिर्ता लिएका छन् । फिर्ता नलिनेहरुमाथि एकीकृत समाजवादीले पनि कारबाही गरेको छ ।